एसओएसका उत्कृष्ट विद्यार्थीलाई सम्मान र पुरस्कार

एसओएस हर्मन माइनर स्कुल गण्डकीमा विद्यार्थीलाई वार्षिक शैक्षिक पुरस्कार वितरण तथा सम्मान गरिएको छ । समारोहमा शैक्षिक सत्र २०८० मा उत्कृष्टता हासिल गर्ने ८६ विद्यार्थीलाई विषयगत पुरस्कार वितरण गरिएको छ ।

विषयगत उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीताकुमारी सुन्दास, एसओएस बालग्रामका परियोजना निर्देशक प्रदीपभक्त आचार्य र प्रधानाध्यापक चूडामणि सुवेदीले पुरस्कृत गरे ।

एसओएस गण्डकीकी पूर्वशिक्षक जया बरालले बुवाआमाको मृतिमा स्थापना गरेको ‘नगेन्द्रकुमारी नारायण स्मृति पुरस्कार कक्षा ३, ४ र ५ मा सर्वाेत्कृष्ट कक्षा ५ का प्रज्ञान बरालले पाए । पुरस्कार राशि नगद २५ हजार छ ।

बालबालिकासँग ३ दशकसम्म सहकार्य गर्ने क्रममा प्राप्त उत्प्रेरणाबाट आफूले मातापिताको स्मृतिमा पुरस्कार स्थापना गर्ने गरेको जयाले जनाइन् । कक्षा ८ को महानगर स्तरीय आधारभूत शिक्षा परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीत्रय स्मारिका न्यौपाने, प्रज्ज्वल क्षेत्री, सुरभ तिवारीलाई जनही ५ हजारसहित सम्मान गरियो ।

एसओएस बालग्राम गण्डकीकी पूर्वआमा शारदा पराजुलीद्वारा स्थापित अक्षयकोषबाट उक्त पुरस्कार प्रदान गरिएको हो । विद्यालयका पूर्वशिक्षक सुरेश बरालद्वारा स्थापित अक्षयकोषबाट कक्षा २ की कृषिका विकलाई विशेष शैक्षिक प्रोत्साहन पुरस्कार प्रदान गरियो ।

कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुन्दासले एसओएसमा अध्ययनरत विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गर्दै आएको सफलता गौरवपूर्ण भएको औंल्याइन् ।

‘अभिभावकले घरमा प्रदान गर्ने वातावरण, विद्यार्थीको लगनशीलता र शिक्षकमा भएको दक्षताका कारण शैक्षिक क्षेत्रमा एसओएस देशकै अग्रणी संस्थाका रूपमा स्थापित छ,’ मन्त्री सुन्दासले भनिन्, ‘बालग्रामका अनाथ, असहाय तथा समुदायका लक्षित वर्गलाई निःशुल्क र अन्य विद्यार्थीबाट सामान्य शुल्क लिएर शिक्षा प्रदान गर्दै आएको एसओएस स्कुललाई गण्डकी प्रदेश सरकारबाट विगतमा उपलब्ध गराइँदै आएको आर्थिक सहायतामा कमी हुन दिइने छैन ।’

एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यले विभिन्न विषयमा पुरस्कृत विद्यार्थीलाई बधाई ज्ञापन गरे । विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले एसओएस गण्डकीले आगामी दिनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको संख्यामा समेत बढाउँदै लैजाने वाचा गरे ।

समारोहमा विद्यार्थीले विविध सांस्कृतिक प्रस्तुति राखेका थिए । समारोहमा विद्यालयका सहप्राचार्य प्रभास पौडेल र सहप्रधानाध्यापक वीरसिंह बूढाले पनि बोलेका थिए ।