सिरोहिया पक्राउ, चौतर्फी विरोध

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया मंगलबार साँझ पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो । उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको नेतृत्वमा सुरक्षाकर्मीको ठूलो टोली पुगेको थियो ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो । सिरोहियालाई मंगलबार नै धनुषाको जनकपुर लैजाने जनाइएको छ । ्

सिरोहियाको गिरफ्तारीप्रति पत्रकारका संघ, संस्था, राजनीति दलका नेता, कार्यकर्ता, कानुन व्यवसायी लगायतले रोष प्रकट गरेका छन् । यता, सिरोहियाले भने सहकारीको बचत हिनामिनाका विषयमा निरन्तर रिपोर्टिङ गरेकाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोधपूर्ण व्यवहार गरेको दाबी गरेका छन्