पोखरा महानगरपालिका १२ नम्बर वडाले बजार क्षेत्रमा राजस्व संकलनका लागि घरदैलो शुरू गरेको छ ।
पहिलो चरणमा वडा अन्तर्गत पर्ने पुरानोधारा, शितलादेवी हुँदै गौँडाको मुख सम्मका पसल र व्यवसायहरुमा राजस्व सचेतना अभियान शुरू गरेका छौं, दोस्रो चरणमा हस्पिटल चोक हुँदै अमरसिंह चोक सम्मका पसल र व्यवसायहरुमा राजस्व सचेतना अभियान गर्ने वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।
राजस्व संकलन प्रभावकारी बनाउन घरदैलो अभियान गरिएको उनले भने । वडा अन्तर्गतका मुख्य क्षेत्रमा सञ्चालित व्यवसाय दर्ता र नवीकरणका लागि समेत अभियानमार्फत आग्रह गरिएको वडा सचिव महेश्वर अर्यालले जानकारी दिए ।
चालू आर्थिक वर्षमा पोखरा महानगरपालिकाले ३ अर्ब ७२ करोड रुपैयाँ संकलनको लक्ष्य लिएको छ । यस अवधि सम्ममा कार्यालयले लगभग ५० प्रतिशतको हाराहारिमा मात्र असुल गर्न सकेको छ । राजस्व संकलनको लक्ष्य भेट्टाउन वडाले उक्त अभियान शुरू गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।
आर्थिक मन्दीका कारण पोखरामा व्यापार घटेको छ, यसको राजस्व संकलनमा प्रत्यक्ष असर परेको वडाको राजस्व शाखा प्रमुख हरिमाया वाग्लेले जानकारी दिनुभयो ।