
नवीन माध्यमिक विद्यालय पोखरा ४ गैह्रापाटनका विद्यार्थीलाई मानव अधिकारका आधारभूत पक्षबारे जानकारी दिइएको छ । नवीनका कक्षा ९ र १० का विद्यार्थीलाई राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका मानवअधिकार अधिकृत टंक खनालले मानवअधिकारको परिचय, त्यसका विश्वव्यापी मान्यता र नेपालको अवस्थाबारे जानकारी दिए ।
राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले आयोजना गरेको कार्यक्रममा खनालले मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नेपालको संविधान र ऐनहरु अनुसार नागरिकले मानवअधिकारको अनुभूति गर्न पाउनुपर्नेमा जोड दिए । राष्ट्रिय सम्पदाकी उपाध्यक्ष निर्मला कोइरालाले पाठ्यक्रममा रहेको मानवअधिकारको विषयलाई बुझाउन यस खालका कार्यक्रम निकै उपयोगी हुने जनाइन् ।
संस्थाकी सचिव विन्देश्वरी बरालले मानव अधिकार र प्राकृतिक सम्पदा सँगसँगै युवाको दायित्व बोध गराउन कार्यक्रम फलदायी हुने अपेक्षा गरिन् । नवीन माविका प्रधानाध्यापक शिरोमणि लामिछानेले यस्ता प्रशिक्षणले विद्यार्थीलाई सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान दिने उल्लेख गरे ।
२०४८ सालमा महाकाली बचाउ अभियानबाट सुरु भएको संस्थाले मानवअधिकार र सम्दाको संरक्षणमा काम गर्दै आएको छ । संस्थाका अध्यक्ष सुनिल पाण्डेले नागरिकलाई मानवअधिकार र सम्पदा संरक्षणको महत्वबारे बुझाउन र सरोकारवालालाई जिम्मेवार बनाउन संस्थाले भूमिका निर्वाह गर्दै आएका सुनाए ।
उनले भने, ‘ठूला ठूला सभा, गोष्ठी भन्दा विद्यालय तहमै पुगेर यस्ता कार्यक्रम गर्दा भोलिका कर्णधारहरु समाज, सम्पदा र मानवअधिकारप्रति सजग बन्छन् भन्ने उद्देश्य लिएका छौँ ।’
कार्यक्रममा संस्थाका सदस्यहरु दिलीप दोषी, अर्जुन भण्डारी, त्रिभुवन बराल, कमल न्यौपाने लगायतले बोलेका थिए ।