साहित्यकार, समालोचक ईश्वरचन्द्र ज्ञवालीलाई गोकुल वाङ्मय पुरस्कार २०८० बाट सम्मान गरिने भएको छ । गण्डकी साहित्य संगम पोखराले स्थापना गरेको यो पुरस्कारको राशि ४० हजार र सम्मानपत्र छ ।
जनकवि गोकुल जोशीको सम्झनामा स्थापना भएको पुरस्कार चार दशकदेखि प्रगतिशील साहित्य, दर्शनशास्त्र र समालोचनाको क्षेत्रमा क्रियाशील ज्ञवालीलाई प्रदान गर्न लागिएको हो । पाल्पामा जन्मिएका ज्ञवाली अहिले काठमाडौंमा बस्छन् ।
यसअघि यो पुरस्कार केवलपुरे किसान, खगेन्द्र संग्रौला, गोविन्द भट्ट, श्यामप्रसाद शर्मा, रमेश विकल, निनु चापागाईं, चैतन्य, घनश्याम ढकाल, मोदनाथ प्रश्रित, हरिहर खनाल, जीवन शर्मा र डा ऋषिराज बरालले पाइसकेका छन् । संगमका काजी गाउँले संयोजक र डा कृष्णराज अधिकारी र लोकबहादुर थापा सदस्य रहेको प्रतिभा छनोट समितिले ज्ञवालीलाई पुरस्कृत गर्न सिफारिस गरेको हो ।
संगमले १ वर्ष गोकुल वाङ्मय पुरस्कार र अर्काे वर्ष गण्डकी वाङ्मय पुरस्कार प्रदान गर्ने गरेको अध्यक्ष भीम नाराभाट बताउँछन् । गण्डकी वाङ्मय पुरस्कारको राशि २० हजार छ । यो पुरस्कारबाट यसअघि भेषजराज शर्मा, भाष्कर, दिल सहानी, कुलबहादुर केसी, नुमराज बराल, केदार शर्मा ढकाल, देवेन्द्र लम्साल, प्राडा रविलाल अधिकारी, पोषराज पौडेल, गोपिरमण उपाध्याय र रविकिरण निर्जीव, चिन्तु गिरी लगायत पुरस्कृत भइसकेका छन् ।