प्राइमका निवर्तमान अध्यक्ष निदेश, अध्यक्ष शंकरसहित ८ पक्राउ

पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटन प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित ८ जना पक्राउ परेका छन् ।

सर्वसाधारणको बचत र सेयरधनीको सेयर रकमसमेत हिनामिना गरेको अभियोगमा कास्की प्रहरीले मङ्गलबार प्राइम बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा निवर्तमान अध्यक्ष पोखरा ४ बस्ने ६६ वर्षीय निदेशप्रसाद कोइराला र पोखरा १४ चाउथे बस्ने अध्यक्ष ४३ वर्षीय शंकर कार्की छन् ।

यसैगरी पोखरा ११ बस्ने सहकारीकी व्यवस्थापक निरु थापा, पोखरा, २७ बस्ने ३७ वर्षीय सुरेन्द्रमणि पौडेल, सहकारीका कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनील थापा र सेयर सदस्य मानबहादुर गुरुङ छन् ।

उनीहरुको एक अर्ब ५४ करोड १५ लाख ८ हजार १ सय ४२ रूपैयाँ अपचलन तथा हिनामिना गरेको देखिएको छ । सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गर्न सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशले मंगलबार पत्र पठाएपछि तत्कालै प्रहरीले ८ जनालाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ४, गैह्रापाटनमा मुख्य कार्यालय रहेको प्राइमको कार्य क्षेत्र कास्की जिल्लाभर छ । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका सहकारी रजिष्ट्रार भेषराज रिजालले प्राइममा एक अर्ब ५४ करोड हिनामिना भएको देखिएको जानकारी दिए ।

यसैबीच जिल्ला प्रहरी कार्यालय, कास्कीले प्राइमका बचतकर्तालाई सहकारीविरुद्ध प्रमाणसहित उजुरी दिन सूचना जारी गरेको छ । जेठ २० गतेभित्र सहकारीका सदस्य र बचतकर्तालाई पासबुक, सेयर प्रमाणपत्र, पासबुक, भौचर, मुद्धति प्रमाणपत्र लगायतका प्रमाणसहित उजुरी दिन भनिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए । सहकारी रजिष्ट्रारको कार्यालयको पत्र आउनेबित्तिकै कारवाही सुरु गरिएको शर्माले सुनाए ।