नेपाली कम्युनिष्टहरु पुष्पलालको घरमा छुट्टभिन्न भएका दाजुभाइ !

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई नेपालका सबै कम्युनिष्ट पार्टीले सम्झन्छिन् । दुई दर्जन जति पार्टीमा बाँडिएका कम्युनिष्टमध्ये अधिकांश श्रेष्ठलाई मार्गदर्शक मान्छन् ।

सोमबार ‘पुष्पलाल जन्मशताब्दी समारोह २०८१’ को अवसरमा कास्कीका कम्युनिस्टहरुले श्रेष्ठको योगदान र भावी चुनौतीबारे छलफल गरे । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कम्युनिष्टहरूमा रणनीतिक रुपमा दुविधा नभए पनि कार्यनीतिका कारण उनीहरु पछि पर्दै गएको टिप्पणी गरे ।

नेकपा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका अधिकारीले इतिहासबाट पाठ सिक्दै भविष्यलाई सुन्दर बनाउन लाग्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री अधिकारीले भने, “कम्युनिष्टहरूले इतिहासको भजनकीर्तन गरेर बस्ने होइन, वर्तमानमा उभिएर भविष्य निर्माण गर्ने हो ।”

उनले व्यक्तिगत गाली, गलौज बन्द गरी वैचारिक बहसमा जुट्न सबै वामपन्थीलाई आग्रहसमेत गरे । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको बाटो ठीक हो भन्ने कम्युनिष्टहरू नै भौतारिँदा देशमा समस्या आएको उनको दाबी छ ।

इतिहासको बखान गरी रमाउने खालका कम्युनिष्टहरूबाट समृद्धि र समाजवाद सम्भव नहुने उनी बताउँछन् । पुष्पलाल अध्ययन केन्द्र कास्की अध्यक्षसमेत रहेका अधिकारीले साझा लक्ष्य प्राप्तिका लागि कम्युनिस्टहरु मिलेरै अघि बढ्नुपर्नेमा जोड दिए ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी कास्की इन्चार्ज अस्था सिले पुष्पलालको योगदानलाई सम्मान गर्दै कम्युनिष्टहरु एकजुट हुनुपर्नेमा जोड दिइन् । भनिन्, “पुष्पलालले बनाएको घरमा छुटभिन्न भएर बसेका छौँ । कहिले कहिले भटौं, भेटौं हुन्छ, कहिले झगडा हुन्छ ।” नेकपा संस्थापक श्रेष्ठको कार्यक्रममा आउँदा कुलपूजा आएजस्तो अनुभव भएको उनले सुनाइन् ।

कार्यक्रममा कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानबारे लेखक रामराज रेग्मी, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र रामबहादुर भण्डारीले कार्यपत्र प्रस्तुत गरे । ती कार्यपत्रमाथि दधिराज सुवेदी, गोपीरमण उपाध्याय र विश्ववन्धु भण्डारी टिप्पणी गरेका थिए ।

पुष्पलाल जन्मशताब्दी समारोह २०८१ संयोजक लोककृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पुष्पलाल अध्ययन केन्द्र कास्कीका उपाध्यक्ष सोमनाथ अधिकारी प्यासी, महासचिव भीम कार्की, नेकपा एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री, नेकपा माओवादी केन्द्र कास्की इज्चार्ज रामजीप्रसाद बराल, राष्ट्रिय जनमोर्चाका शंकर बराल लगायतले पुष्पलालको योगदान र कम्युनिस्ट आन्दोलनको भावी दिशाबारे विचार राखे ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।