जंगलमा आगो लगाउने अन्नपूर्ण ३ मराम्चेका पौडेल पक्राउ

कास्की प्रहरीले जंगलमा आगो लगाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

शुक्रबार कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नं. ३ मराम्चेको मराम्चे सामुदायिक जंगलमा आगो लगाएको अभियोगमा सोही ठाउँका ३९ वर्षीय अगन्दर पौडेललाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

आगलागी भएपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले आगो लगाउने व्यक्ति खोजतलास गर्दै पौडेललाई नियन्त्रणमा लिएको हो । पौडेलले सामुदायिक जंगल नजिकै रहेको आफ्नै खरबारीमा आगो लगाएको र सोही आगो फैलिएर सामुदायिक वनमा ठूलो आगलागी भएको स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रहरीले पौडेलमाथि आवश्यक अनुसन्धान तथा कारवाहीका लागि आइतबार डिभिजन वन कार्यालय कास्की पठाएको छ ।