
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा भएको छ । सभामुख कृष्ण धितालले आइतबार भएको प्रदेशसभाको बैठकमा अधिकारीको पक्षमा ३० मत परेको र सो मत प्रदेशसभाको बहुमत भएको घोषणा गरे ।
पक्षमा नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात, स्वतन्त्र एक गरी ३० सांसदले मतदान गरेका थिए । नेपाली कांग्रेसका २७ सदस्यले विपक्ष दिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसद तटस्थ बसे ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा ३० सदस्यलाई बहुमत मानी सरकारले विश्वासको मत पाएको घोषणा भएपछि कांग्रेसका सांसदहरुले सभामुखलाई कालो झन्डा देखाएका छन् । उनीहरुले सदनमै नाराबाजीसमेत गरे ।
यसअघि अधिकारीले यो सरकारलाई असंवैधानिक भन्ने आरोप अदालतबाटै खण्डित भइसकेको दाबी गरेका थिए । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानले अहिलेको संविधानमा केही कमजोरी रहेको औंल्याउँदै त्यसलाई हटाउँदै जानुपर्ने बताए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले पत्रकार सम्मेलन गरी सभामुखले गैरसंवैधानिक कदम चालेको बताउँदै अदालत जाने प्रष्ट पारेका छन् । त्यसअभि उनले धारा १६८ को उपधारा २ बाट सरकार बन्न नसके धारा ३ मा जाने र त्यसबाट पनि बन्न नसके धारा ५ मा जाने उल्लेख गर्दै सरकारै नबनी मध्यावधि निर्वाचनको डर नदेखाउन भनेका थिए ।