कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार भएको परीक्षाको प्रश्नपत्र मोबाइलबाट आउट गर्ने पोखरा महानगरपालिका वडा नं. ११ फूलबारीका ३९ वर्षीय नारायण बास्तोला र सोही ठाउँका वर्ष ३७ का रामचन्द्र बास्तोलालाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए । उनीहरु दुवै जना शिक्षक हुन् ।
नाराणण र रामचन्द्रको साथबाट कक्षा १२ को थप उत्तर पुस्तिका र तीन मोबाइलसमेत नियन्त्रणमा लिइएको छ । आइतबार ९ बजेतिर पोखरा ११ फूलबारी स्थित शिवशक्ति माविबाट कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र बाहिरिएको थियो । वडा प्रहरी कार्यालय रामबजार र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट समेत खटिएको प्रहरी टोलीले प्रश्नपत्र आउट गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा कास्की जिल्ला अदालतबाट हिरासतमा राख्न अनुमति लिई थप अनुसन्धान जारी छ ।