हेमजामा बस दुर्घटना, १९ जना घाइते

पोखरा बागलुङ राजमार्गको पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा यात्रुबहाक बस शनिबार साँझ दुर्घटना भएको छ ।

दुर्घटनामा परी १९ जना घाइते भएका छन् । घाइतेमध्ये १६ जनाको गण्डकी मेडिकल कलेज र तीन जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बागलुङबाट तनहुँका लागि छुटेको ग१ख ९२९७ नम्बरको बस हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको जनाए ।

साँझ साढे ७ बजेतिर डिभाइडरमा ठोकिएर अनियन्त्रित भई बस सडकमा पल्टिएको प्रवक्ता शर्माले जानकारी दिए । बस चालक गोरखाको बारपाक सुलिकोट गाउँपालिका ६ का ४५ वर्षीय चन्द्रबहादुर गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।