सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) कास्कीको आयोजनामा शुक्रबार रुपा गाउँपालिका वडा नम्बर ७, रामकोटमा निशुल्क आँखा शिविर र विभिन्न जाँचसमेत भएको छ । शिविरमा २ सय ५७ जनाको आँखा जाँच गरिएको छ ।
आँखा जाँच गराएकामध्ये आवश्यक पर्नेहरुलाई सित्तैमा चश्मा र औषधीसमेत वितरण गरिएको सुकल्प अध्यक्ष डा अनिल सुवेदीले बताए । शिविरमा सहभागीको मधुमेह, रगतमा हुने खराब बोसो (टिजी) लगायतका जाँचसमेत सित्तैमा गरिउको थियो ।
रुपा ७ का वडाध्यक्ष कृष्णराज सुवेदीले ग्रामीण भेगमा बसोबास गर्ने नागरिकलाई यस खालका शिविरले ठूलो राहत हुने बताए । उनले स्थानीय सरकार जनताका प्रत्यक्ष सरोकारसँग जोडिएको उल्लेख गर्दै जनताका समस्या सुल्झाउन सीमित स्रोत, साधनका बाबजुद प्रयत्नशील रहेको जनाए ।
कार्यक्रममा १०२ वर्षीया कुण्ठादेवी सुवेदी र ८० वर्ष पुगेका १३ जना सुवेदीहरुलाई सम्मान गरिएको छ । हिमालय आँखा अस्पताल र पश्चिमाञ्चल डायग्नोस्टिक सेन्टरको प्राविधिक सहयोगमा शिविर भएको हो ।
कार्यक्रममा सुकल्प केन्द्रीय उपकुलाधिपति जगत सुवेदी, केन्द्रीय सदस्य कालिदास सुवेदी, सुकल्प कास्की सचिव महेन्द्र, हंसपुर इकाइ सचिव सत्यराज लगायतले बोलेका थिए ।