आगलागीमा गम्भीर घाइते ३ बालकको मृत्यु

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ ।

गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए ।

उपचारको क्रममा १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा शनिबार मृत्यु भएको हो । आगलागीबाट घाइते १० वर्षीय सुलश बुढाको भने गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएका थिए ।

यसअघि डोल्पामै गत मङ्गलबार ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा तीन सैनिकको ज्यान गएको थियो ।