मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर गर्न माग गर्दै पाण्डे सर्वाेच्चमा

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर गर्न माग गर्दै नेपाली कांग्रेस सर्वाेच्च गएको छ । प्रदेशका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको दर्ताबाट मंगलबार दिउँसो रिट दर्ता भएको हो ।

गण्डकीका मुख्य न्यायाधीवक्ता चिरञ्जीवी शर्माले सरकार गठनका लागि सभामुखलाई गणना गर्न नमिल्ने हुँदा अहिलेको सरकार गठनलाई बदर गर्न माग गर्दै रिट दायर भएको पुष्टि गरे । रिटमा कांग्रेस पाण्डेलाई मुख्यमन्त्रीमा निरन्तरता दिनसमेत माग गरिएको छ ।

अधिकारीले एमालेका २२, माओवादीका सभामुखसहित आठ र स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे) सहित ३१ सांसदको समर्थनमा आइतबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित आठ र स्वतन्त्र एक सांसद छन् । सदनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका दुई सांसद छन् । अहिलेको सरकारलाई विश्वासको मत पाउन राप्रपाको समर्थन नभई हुँदैन ।