मादीमा २७ गते सार्वजनिक बिदा

कास्कीको मादी गाउँपालिकाले चैत २७ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । गुरुङ जातिको पर्व ट्होटेको अवसरमा पालिकाले बिदा दिएको हो ।

मंगलबार पालिका अन्तर्गतका सबै कार्यालय तथा विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । उनले टोहटेको अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु समुदाय लगायत सम्पूर्ण नेपालीमा सुख, शान्ति तथा समृद्धिको कामनासमेत गरे ।

गुरुङ समुदायले प्रत्येक वर्ष चैत र साउन महिनाको अन्तिम मंगलबार यो पर्व मनाउने चलन छ । अध्यक्ष गुरुङले संविधानले दिएको अधिकार उपयोग गरी बिदा दिइएको जनाए ।

‘सबै जातिका चाडपर्व मनाउने त कुरा नै भइहाल्यो, प्रदेशले बिदा दिएको भए हुन्थ्यो, दिने देखिएन । हामीले दियौँ,’ उनले भने ।