टुक्र्याई आफैंलाई अर्को सिङ्गो शरीर बनाउने तिमी
आफ्नो स्नेह र ममताले प्रेमको परिभाषा जनाउने तिमी
देवता पनि लालायित भई तिम्रै प्रेम पाउन धर्तीमा आए ।
राम, कृष्ण, बुद्ध स्वयम् विष्णु अवतार जन्माउने तिमी ।
मैले छोएसी पानी चल्दैन भन्छौ
म गएसी भित्र अगेनाको आगो बल्दैन भन्छौ
यसरी विभेदको बिज आफैं रोप्छौ
फेरि आफैं यहाँ छुवाछूत फल्दैन भन्छौ ।
फूल भए सजाइदेऊ न बगैंचामै, चुड्ने गर्छौ किन
आखिर छोडनु नै भए जीवनमा जुड्ने गर्छौ किन
रोपेको भए घरमै लगि सधैं फुलिरहने थिए होला
बोटैबाट छुटाई फूललाई चुँडी रस लुट्ने गर्छौ किन ?
दिँउसै आँखा चिम्लेर उज्यालो खोज्छन् यहाँ
अन्धाधुन्ध अँध्यारोमा नै तीर घोच्छन् यहाँ
सुनाउनेले मिथ्या कहानी सुनाए, सुन्नेले पत्ताउँछ्न्
यथार्थ एकातिर, होहल्लाबारे मात्र सोच्छ्न् यहाँ ।
सुमधुर स्वरमा गाउदै गीत कोइली मलाई बोलाउँछ भन्दैछ वसन्त
यो प्रकृतिको रंगमञ्चमा आफ्नो पालो आउने दिन गन्दैछ वसन्त
भन्छन् वसन्त मयूरले आफ्नो सुन्दर नृत्य प्रस्तुत गर्ने छ अब
फूलहरु फक्रनेछ्न्, नयाँ पालुवा पलाउदै हरियाली वन्दैछ वसन्त ।