
एमाले संसदीय दलका नेता खगराज अधिकारीले आइतबार दिउँसो प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ लिए । माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री नियुक्त भए पनि उनले विश्वासको मत पाउने अवस्था बनिसकेको छैन ।
माओवादी सांसद कृष्ण धिताल सभामुख रहेकाले उनले मत बराबरी भएको अवस्थामा बाहेक मतदान गर्न पाउँदैनन् । उपसभामुख बिनाकुमारी मगर पनि सत्ता गठबन्धनकै सांसद रहेकाले सभामुखलाई राजीनामा गराएर पनि संकट निवारण हुने देखिँदैन ।
केन्द्रमा गठबन्धन परिवर्तन भएपछि प्रदेशको दोस्रो कार्यकालमा अधिकारी दोस्रो पटक मुख्यमन्त्री बनेका हुन् । अब उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित आठ र स्वतन्त्र एक सांसद छन् । नेपाली कांग्रेसका २७ र राप्रपाका दुई सांसद छन् ।
सत्ता गठबन्धनलाई सरकार बनाउन राप्रपाको साथ नभई हुँदैन । राप्रपाले भने २७ गतेसम्म कुनै निर्णय नगर्ने जनाइसकेको छ । केन्द्रमा राप्रपाले सत्ता गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेपछि थप अप्ठेरोमा अहिलेको सरकार पर्ने छ ।
अधिकारीसँगै माओवादी केन्द्रबाट संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे)लाई मन्त्री बनेका छन् । उनीहरुको मन्त्रालय यकीन भएको छैन ।
माओवादी केन्द्रको चुनाव चिन्ह लिएर सांसद निर्वाचित नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाले भने नयाँ सरकार गठनबारे जानकारी नभएको बताएका छन् । माओवादी केन्द्रले भने देवकोटालाई संसदीय दलको सदस्यकै रुपमा गणना गरेको छ ।
नेपाली कांग्रेसले भने मुख्यमन्त्री दाबी र नियुक्ति असंवैधानिक भएको जनाएको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै सभामुखको गणनालाई मान्यता नदिन आग्रह गरेका थिए । यसअघि कोशी प्रदेशमा सभामुखसहित गणना गरी बनेको सरकार सर्वाेच्चले अवैध हुने फैसला गरेको नजीर स्मरण गर्दै पाण्डेले मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जाने उल्लेख गरेका छन् ।