खगराज मुख्यमन्त्री, कांग्रेस अदालत जाने

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार दिउँसो संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

त्यसअघि अधिकारीले एमालेका २२, माओवादीका सभामुखसहित आठ र स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे) सहित ३१ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित आठ र स्वतन्त्र एक सांसद छन् । सदनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका दुई सांसद छन् ।

यता, नेपाली कांग्रेसले भने मुख्यमन्त्री दाबी र नियुक्ति असंवैधानिक भएको दाबी गरेको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै सभामुख गणनालाई मान्यता नदिन आग्रह गरेका थिए । सभामुखसहित गणना भएपछि कांग्रेस भने अदालतमा रिट पेश गर्ने तयारीमा भएको कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

अधिकारीले आइतबार दिउँसो ३ बजे सपथ लिने र लगत्तै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । पहिलो चरणमा स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीबाट एक जनालाई मन्त्रि बनाउने तयारी भएको छ ।