गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । विश्वासको मत लिने समय सकिनु १ दिनअघि उनले राजीनामा दिएका हुन् ।
पाण्डेले बुधबार सवा ११ बजे प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा बुझाए । विश्वसको मत लिने र राजीनामा दिने विषयमा मुख्यमन्त्री पाण्डेले मंगलबार नेपाली कांग्रेसका सांसदहरुसँग छलफल गरेका थिए । फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार जोगाउन चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने थियो ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री भएका पाण्डेले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान हुन बाँकी छ । पाण्डेले प्रदेश प्रमुखलाई विगतका चलन हेरी सरकार गठनका लागि आह्वान गर्न अग्रह गरेको उल्लेख गरे ।
६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७ सांसद छन् । बहुमत पु¥याउन ३१ सांसद आवश्यक हुन्छ । गण्डकीमा सत्ता गठबन्धनका एमालेको २२ र माओवादी केन्द्रको सभामुखसमेत आठ सिट छ । यहाँ सरकार गठनका लागि २ सिट भएको राप्रपा निर्णायक छ ।
राजीनामा बुझाएपछि पाण्डेले फेरि कांग्रेसले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि पहल गर्ने उल्लेख गरे । राप्रपा निर्णायक भएको उल्लेख गर्दै उनले थपे, “राप्रपाले जसलाई समर्थन ग¥यो, उसैको सरकार बन्ने अवस्था छ । राप्रपा आन्दोलनमा रहेकाले विश्वासको मत पाउने सम्भावना नदेखेर राजीनामा दिएको हुँ । राप्रपाले हामीलाई समर्थन गरे हाम्रो सरकार बन्छ ।”