पोखरामा विश्व अटिजम दिवस मनाइयो

आम समुदायमा अटिजमसम्बन्धी सचेतना जगाउने उद्देश्यले मंगलबार पोखरामा विश्व अटिजम दिवस मनाइएको छ । दिवसको सन्दर्भमा अटिजम केयर सोसाइटी गण्डकीको अगुवाईमा चिप्लेढुंगा स्थित मानव अधिकारचोकदेखि नयाँबजारको प्रर्दशनी केन्द्रसम्म सचेतनामूलक ¥याली निकालिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री महेन्द्रध्वज जिसीले अटिजम भएका बालबालिका तथा अभिभावकका लागि सबै क्षेत्रको सहयोग आवश्यक पर्ने बताए । अटिजम क्षेत्रको सवालमा गण्डकी प्रदेश सरकार संवेशनशील भएको उल्लेख गर्दै उनले सो क्षेत्रको समस्या हल गर्न सरकारले मिलेर काम गर्ने जानकारी दिए ।

‘अटिजमको समस्या जसलाई परेको छ, उसैले बुझेको छ,’ उनले भने, ‘सरकारी निकायले केयर युनिट बनाएर संरक्षण र व्यवस्था गर्नु आवश्यक छ ।’ उनले दैनिक रोजगारी गरेर गुजारा चलाउने परिवारको सदस्यलाई अटिजम भएमा झन ठूलो समस्या पर्ने उल्लेख गरे ।

मणिपाल शिक्षण अस्पतालका डा दिवसचन्द्र घिमिरेले अटिजम कुनै रोग नभएर स्नायु र मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या भएको जानकारी दिए । पोखरा नर्सिङ क्याम्पसका उपप्राध्यापक निशा श्रेष्ठले अटिजमको पहिचान नहुँदा अवहेलना र तिरस्कारको सामना गर्नु परेको उल्लेख गरिन् ।

अभिवावक प्रवेश घिमिरेले अटिजम भएको बालबालिकाको संरक्षण र व्यवस्थापन गर्ने दायित्व सरकारको भएको दाबी गरे । अटिजम भएका व्यक्ति प्रतिको हेपाहा प्रवृत्तिको अन्त्य गर्नुपर्ने माग राख्दै उनले समान व्यवहार गरेर हेर्ने दृष्टिकोणलाई सकारात्मक बनाउनुपर्नेमा जोड दिए ।

मणिपाल शिक्षण अस्पतालका विद्यार्थी राज बसेलले अटिजमलाई माया र प्रेमले जित्न सकिने दाबी गरे । कार्यक्रममा मणिपाल शिक्षण अस्पतालको विद्यार्थीले अटिजम भएका बालबालिकाको अवस्था सहज बनाउने सन्दर्भमा सचेतनामूलक नाटक प्रदर्शन गरेका थिए ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी संयोजक शिव खकुरेल, अटिजम केयर सोसाइटी गण्डकी अध्यक्ष मुकुन्द लम्साल, सचिव रमेश लिगल, मुकुन्दराज जोसी, शोभा लामिछाने, स्वयंसेवीहरु सरला थापा र प्रतीक गुरुङले अटिजम मैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए ।

र्यालीमा पोखरामा रहेका अटिजम भएका बालबालिका, उनीहरुका अभिभावक, मेडिकल तथा नर्सिङ्ग कलेजहरुका बिद्यार्थी, अपाङ्गतासम्बन्धी कार्य गर्ने संस्था तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरु तथा अन्य सरोकारवालाको सहभागिता थियो । सो अवसरमा अटिजम सम्बन्धि सडक नाटक, कबिता वाचन जस्ता कार्यक्रमसमेत भएका छन् ।