
६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मान्द्रेढुंगा बहुउद्देश्यीय सहकारीको आयोजनामा मंगलबार निशुल्क स्वास्थ्य शिविर भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) प्रालिको प्राविधि सहयोगमा भएको शिविरमा ३ सय ५० जनाको जाँच गरिएको छ ।
सहकारीले पोखरा १४, विशाल मार्ग, काजीपोखरीमा आयोजना गरेको यो शिविर युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा आयोजना गरेको १ सय ६४ औं शिविर हो । कार्यक्रममा पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले कृषि उत्पादनसहितका क्षेत्रमा काम गरिरहेको मान्द्रेढुंगाले शिविर आयोजना गरी नमुना काम गरेको उल्लेख गरे ।
उनले वडावासीलाई नियमित व्यायाम गर्न, खानपानमा ध्यान दिन र सम्भव भएसम्म वर्षमा एक पटक होल बडी जाँच गराउनसमेत आग्रह गरे । गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युआरएलले स्थापनाको १० वर्षमा १ लाख ६० हजार नागरिकले निशुुल्क स्वास्थ्य परीक्षण सेवा लिएको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । सामाजिक उत्तरदायित्व बहन गर्दै बेला बेलामा निशुल्क स्वास्थ्य शिविर आयोजना गरी नागरिकलाई सेवा दिदै आएको अध्यक्ष पन्तले उल्लेख गरे ।
‘प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब भएकाले सामाजिक उत्तरदायित्व वहन गर्दै शिविरमा जनतालाई सचेतना र सित्तैमा गुणस्तरीय सेवा दिइरहेका छौं,’ पन्तले भने । ्शिविरमा मधुमेह, रगतमा हुने खराब बोसो (टिजी), क्रिटिनाइन र एचआइभीसम्बन्धी रगत जाँच र क्षयरोगसम्बन्धी खकार जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा ५० प्रतिशत छुट दिइएको थियो ।
युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला अहिले गण्डकी प्रदेशका २० स्थानबाट सेवा दिइरहेको बताउँछन् । प्रदेशलाई रक्त परीक्षणमा अत्मनिर्भर बनाउने गरी संस्था अघि बढेको उनको भनाइ छ । सहकारीका कोषाध्यक्ष एवम् युआरएल हस्पिटल चोकका निर्देशक मणि न्यौपानेले अव्यवस्थित जीवनशैली र खानपानले अनेक खालका रोगहरु बढेको उल्लेख गर्दै खानपान र जीवनशैली सुधार्न र बेला बेलामा स्वास्थ्य जाँच गरी स्वस्थ रहन आग्रह गरे ।
सहकारीका अध्यक्ष भरत केसीको अध्यक्षतामा भएको कार्यक्रममा युआरएल हस्पिटल चोकका निर्देशक निर्देशक सुरेश पौडेल, सहकारीका सञ्चालक मीनबहादुर गुरुङ, कास्की बचत तथा ऋण सहकारी संघका सदस्य किरण अधिकारी लगायतले बोलेका थिए ।
समारोहका सहभागीले आउँदै गरेको नयाँ वर्षको शुभकामना आदानप्रदानसमेत गरेका थिए । सात सय ३० सेयर सदस्य रहेको मान्द्रेढुंगा सहकारीले कृषि फार्म, ग्रोसरीसमेत सञ्चालन गरेको छ ।