राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल गण्डकी प्रदेशको प्रथम भेला सोमबार पोखरामा भएको छ । भेलामा मोर्चाका केन्द्रका सचिवालय सदस्य शैलज पौडेलले साम्राज्यवादी र राष्ट्रघातीहरुका विरुद्ध आन्दोलन उठाउनका लागि मोर्चा गठन भएको उल्लेख गरे ।
वामपन्थी र परिवर्तनकारी शक्तिमा टुटफुट र विभाजन हुँदा त्यसको फाइदा पश्चगामी र विदेशीका दलालहरुले लिएको भन्दै उनले अबको आन्दोलनले त्यस्ता शक्तिहरूलाई बढार्ने चेतावनी दिए ।
प्रतिरोधः जनअधिकार आन्दोलका सदस्यसमेत रहेका पौडेलले अहिलेसम्म कोसी, मधेश, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा प्रदेश कमिटी गठन भएको जानकारी दिँदै बाँकी दुई प्रदेशमा पनि मोर्चा गठन गरी देशभरबाट एकसाथ आन्दोलन उठाउने तयारी भईरहेको जानकारी दिए।
भेलामा नेकपा मशालका नेता विमल शर्माले संयुक्त आन्दोलन उठाउनका लागि मोर्चाको आवश्यकता परेको सुनाए । उनले लामो प्रयासपछि मोर्चा गठन भएको बताउँदै अब आन्दोलनका कार्यक्रमसहित अगाडि बढाउनुपर्ने विचार राखे ।
कार्यक्रममा नेकपा मार्क्सवादी पुष्पलालका केन्द्रीय सदस्य विष्णुबहादुर थापा, डोलराज विक र प्रतिरोध जनअधिकार आन्दोलका वन्दना ढकालले बोलेका थिए ।
भेलाले दीपक गुरुङको संयोजकत्वमा ९ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ। सदस्यमा गीता कुँवर, प्रकाश पौडेल, सन्देश गिरी, डोलराज विक, विष्णुबहादुर थापा र विनोद सुनाम छन
। २ सदस्य पछि थप गरिनेछ।
भेला दीपक गुरुङको अध्यक्षतामा भएको हो ।