पटनेरीमा अन्तर्राष्ट्रिय, नवलपुर र शुक्लागण्डकीमा प्रादेशिक क्रिकेट रंगशाला

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणको लागि उपयूक्त जग्गाको खोजीमा रहेको प्रदेश खेलकुद परिषद गण्डकीले अन्ततः जग्गा पाउने भएको छ ।

पोखरा महानगरपालिका वडा नं २९ पटनेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणको लागि वडा कार्यालय २९ ले सहमति दिए संगै परिषदले प्रदेश सरकारलाई निर्माण कार्य अघि बढाउन सिफारिस गरेको हो ।

वडा नं २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले उक्त जग्गा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि उपयूक्त रहेको बताएका छन् । उनले भनेका छन्–“कुनै न कुनै रुपले हामीले यो जग्गालाई संरक्षण गर्नुपर्छ भन्नेमा थियौं । तर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको बारेमा हामीले त्यती सोचेका पनि थिएनौं । प्रदेश खेलकुद परिषदले नयाँ योजना ल्याएको छ । हामी त्यसको स्वागत गर्छौं । प्रदेश सरकारले यहाँ रंगशाला निर्माणको योजना अघि सार्छ भने हामी त्यसका लागि तयार छौं ।”

करिव ४ सय ५० रोपनीमा फैलिएको पोखरा २९ पटनेरीको जग्गा विगतमा प्रस्तावित पशुपतीघाट क्रिकेट रंगशालाको उत्तरतर्फ पर्दछ । सेती नदीको कारण पशुपतीघाटको निर्माण कार्य अघि नवढे संगै प्रदेश सरकार विगत तीन वर्ष देखि नयाँ जग्गाको खोजीमा रहेको थियो । प्रदेश सरकारले पशुपतीघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि डिपिआर समेत तयार गरिसकेको थियो ।

परिषदका कार्यकारी सदस्य ऋषीराम गौतमको संयोजकत्वमा परिषदद्वारा गठित अध्ययन टोलीले प्रदेशका विभिन्न जिल्लाको भ्रमण र स्थलगत अवलोकन गरी जग्गाको खोजी गरिरहेको थियो । सोही आधारमा प्रदेश सरकारको चैत्र ९ गते भएको मन्त्री परिषदको बैठकले नवलपुर र तनहुँको शुक्ला गण्डकीमा गरी दुई ठाउँमा प्रादेशीक क्रिकेट रंगशाला निर्माणको घोषणा समेत गरेको छ ।

सरकारले दिएको जिम्मा पुरा गर्न टोलीले कुनै पनि वाधा अवरोध नभएको जग्गाको खोजी गरिरहेको कार्यकारी सदस्य गौतमले बताए । निर्माणका लागि जग्गा खोजीको पहिलो चरण पार भएको बताउँदै उनले भने–“सबै हिसावले पोखरा २९ पटनेरीको जग्गा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि उपयूक्त छ । पोखराको लेखनाथ पर्यटकिए दृष्टिकोणले महत्व राख्ने भएकोले परिषदले निर्माण कार्य अघि बढाउन सिफारिस गरेको छ ।”

यता प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा २९ पटनेरीको जग्गा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि उपयूक्त रहेको बताएका छन् । उनले भने–“मैले पनि स्थलगतरुपमा अवलोकन गरेको छु । जग्गा समेत प्रयाप्त मात्रामा छ । वडा कार्यालय र स्थानियहरु समेत सकरात्मक र उत्सुक छन् । उत्तरतर्फ ३६० डिग्रीमा हिमाल देख्न सकिन्छ । पोखराको लेकसाइड र वेगनासबाट समेत नजिक छ । त्यो भन्दा पनि पोखरा रंगशालाको क्रिकेट मैदानबाट जम्मा १२–१३ किमिको दुरीमा छ ।” उनले जोडदिंदै भने–“पोखरालाई क्रिकेटको हव बनाउने हो भने सबै हिसाबले यो स्थान उपयूक्त छ ।”

पोखरा २९ पटनेरीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि वडा कार्यालयबाट सहमति प्राप्त भए संगै परिषदले मन्त्रालयमा सिफारिस गरेको सदस्य सचिब श्रीधर शर्माले जनाएका छन् ।