नेपाली नयाँ वर्षमा लेकसाइडका सबै चौतारीमा सांस्कृतिक कार्यक्रम

चैत २९ गतेदेखि वैशाख १ गतेसम्म पोखरामा हुने १९ औं फेवा नव वर्ष महोत्सवको तयारी जारी छ । पर्यटक र स्थानीय गरी ३ लाखले महोत्सव हेर्ने आयोजकको अपेक्षा छ ।

पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर होटल संघ पोखरा नेपालले ड्यामसाइड चोकदेखि खहरे चोकसम्मको सडकमा नै महोत्सव आयोजना गर्दै छ । महोत्सवलाई भव्य बनाउन तयारीलाई तीव्रता दिइएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

नेपाली मौलिक संस्कृति संरक्षण गर्ने र कोभिड १९ बाट नराम्रो गरी प्रभावित भएको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने उद्देश्यले आयोजना हुने महोत्सवमा सांस्कृतिक झाँकी, पञ्चे बाजा, दोहोरी, नाचगानका कार्यक्रम, कन्सर्ट र पर्यटक दौड समावेश हुने संयोजक सुवेदीले उल्लेख गरे । पोखरा पर्यटकीय राजधानी घोषणा भएको खुसियाली र नयाँ वर्षलाई उल्लासपूर्ण बनाउन संघ अन्तर्गतका होटलले पाहुनालाई २० प्रतिशतसम्म छुट प्रदान गर्ने पनि उनले स्पष्ट पारे ।

अन्य व्यवसायीले समेत आफ्ना सेवा सुविधामा भारि छुट प्रदान गर्ने सुवेदीले बताए । महोत्सवमा हुने क्षेत्रका सबै जसो चौतारीमा सांस्कृतिक कार्यक्रम गरिने भएको छ । महोत्सवमा दर्शकले निशुल्क प्रवेश पाउने छन् । पोखरा र वरपरका १ हजार २ सय होटलमा ४० हजार विस्तारा रहेको बताइन्छ ।

होटल संघ अन्तर्गत ४ सय ४७ होटल छन् । लेकसाइड र ड्यामसाइड एरियामा ७ सय होटल रहेको र पोखराको पर्यटन क्षेत्रमा १५ हजारले रोजगारी पाएको पनि अध्यक्ष सुवेदीले तथ्यांक सुनाए । अहिले पोखराका होटलमा ५० देखि ६० प्रतिशत अकुपेन्सी रहेको पनि उनले जानकारी दिए । महोत्सव आयोजनाका लागि ६० लाख खर्च हुने र त्यो रकम संघका सदस्य र प्रायोजकहरुबाट व्यहोरिने आयोजकले जनाएको छ ।

होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले संघले पछिल्लो पटक निश्चित चौरमा नभई सडकमा नै महोत्सव आयोजना गर्न थालेपछि सहभागिता जनाउने पर्यटक र आगन्तुकको भीड क्रमशः बढ्दै गएको जनाए । नेपाली नयाँ वर्षको अवसरमा पोखरा घुम्न आउने पर्यटकको संख्या पछिल्ला वर्षमा बढ्दै गएको र अहिले भारतीय पर्यटकसमेत बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

सरकार माओवादी द्वन्द्वको समयमा होटल संघले यो महोत्सव सुरुवात गरेको थियो । संघले न्यो बेला गरेको नमुना कार्यलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले पनि साथ दिएको कार्यालयका निमित्त प्रमुख नवीन पोखरेलले बताए । नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले महोत्सवलाई प्रवद्र्धन गरेका छन् । गोर्खा ब्रुअरी प्रालि महोत्सवको मुख्य प्रायोजक हो । गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद् र होटल संघ नेपालले महोत्सवलाई सघाउने छन् ।