
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराको आयोजनामा सोमबारबाट ९ प्रकारका तालिम सुरु भएका छन् । युवालाई रोजगार, स्वरोजगार र उद्यमी÷व्यवसायी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री महेन्द्रध्वज जिसीले सोमबार भएको समारोहमा तालिम सुरुआत गरे । केन्द्रले यो आर्थिक वर्षको दोस्रो चौमासिकमा पोखरामा प्लम्बिङ, मोबाइल मर्मत, कुक, ब्युटिपार्लर, विद्युत जडान, आधारभूत सिलाइ कटाइ, सैलुन, फेसन डिजाइन र एडभान्स ब्युटिपार्लर तालिम दिँदै छ ।
मन्त्री जिसीले सीप सिकेर जीवनमा परिवर्तन गर्न र देशको समृद्धिमा योगदान गर्न आग्रह गरे । तालिमका नाममा तालिममात्र नलिन र व्यवहारमा उपयोग गर्न उनको आग्रह छ । ‘कुनै बेला नवलपरासीको एउटा क्षेत्रमा वर्षैपिच्छे प्रशिक्षक र प्रशिक्षार्थी एउटै भएको देखिएको थियो । यस्तो नहोस्, सीप उपयोग गरी जीवनलाई परिवर्तन गर्नुस्,’ उनले भने ।
अहिलेको परिवेशमा सबै दक्ष जनशक्तिलाई देशमै राखिरहन सम्भव नभएको औंल्याउँदै उनले सीप भए जहाँ गए पनि राम्रो आम्दानी, सम्मान र आयआर्जन हुने उल्लेख गरे । मनाङ, मुस्ताङदेखि पोखराको बजारसम्म कतिपय निर्माणका काम गर्न विदेशी कामदारको विकल्प नभएको उदाहरण पेश गर्दै उनले उपलब्ध अवसरहरुलाई उपयोग गर्न आग्रह गरे ।
मन्त्रालयका सचिव प्रकाश पौडेलले अहिले चलिरहेका तालिमहरुको प्रभावकारिता र बजारको आवश्यकतालाई मूल्यांकन गरी आवश्यक परिमार्जन गर्दै अघि बढ्न सुझाए । ९ तालिममा १ सय ८० जना सहभागी छन् ।
केन्द्र प्रमुख लक्ष्मीभद्र वाग्लेले यो वर्ष हुने ३६ प्रकारका तालिममध्ये २० प्रकारका तालिम भइसकेको उल्लेख गरे । सात जिल्ला कार्यक्षेत्र रहेको केन्द्रले आवश्यकताअनुसारका तालिम सञ्चालन गर्न रोजगार र स्वरोजगारका लागि काम गर्दै आएको छ । ‘तालिमले ज्ञान, सीप र धारणमा अभिवृद्धि गर्ने हो, सरकारले लगानी गरी दिन लागेको तालिम दत्तचित्त भई लिएर यहाँहरुले आयआर्जन र जीवनमा परिवर्तन गर्ने प्रयत्न गर्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा केन्द्रका कार्यक्रम अधिकृत डिल्लीराज सुवेदीले पनि बोलेका थिए ।