अमेरिकामा परशु प्रधान र दधिराज सुवेदीको सम्झना

अमेरिकाको मेरिल्याण्ड राज्यमा साहित्यकार परशु प्रधान र दधिराज सुबेदीको स्मृतिमा शोक तथा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।

३० मार्चका दिन गेथेस्बर्गको लाइब्रेरीमा भएको श्रद्धाञ्जली सभा साङ्ग्रिला डायलगले आयोजना गरेको हो । कार्यक्रममा लेखक साहित्यकारहरुले परशु प्रधान र दधिराज सुवेदीको निधनले नेपाली सहित्य क्षेत्रमा ठूलो क्षति पुगेको बताए। कार्यक्रममा सीता पाण्डे, शैलेन्द्र साकार, योगेश उपाध्याय, गण्डकीपुत्र र भावना विष्टले प्रधान र सुवेदीका योगदानबारे बोलेका थिए ।

कवि तारा पराजुलीले आफ्नो मुक्तकमार्फत् यसरी प्रधान र सुबेदीलाई यसरी सम्झिइन्:

भुल्नै नसक्ने माहोल छाडेर
अनेकौं कृतिहरु अनमोल छाडेर
युगौँयुगसम्म बाँचिरहने छौ तिमी
टाढा टाढा गए पनि यो भूगोल छोडेर।

केहिले वारि त कहिले पारि सम्झेर
फुल्दै गरेको सिर्जनाको वारि सम्झेर
बिर्सनै सकिन्न तिमीलाई सम्झिइरहुँला
तिमीले रोपेको बरपिपल चौतारी सम्झेर।

आयोजक संस्था साङ्गृग्रिला डाइलगकी अध्यक्ष सीता पाण्डेले प्रधान र सुबेदीले साहित्य क्षेत्रमा दिएको देनलाई नेपाल र नेपालीले भुल्न नहुने बताइन् । कार्यक्रमको अध्यक्षता साहित्यकार शैलेन्द्र साकार र संचालन प्रकाश नेपालले गरेका थिए।