पोखरा २७, अर्चलेमा शनिबार बिहान भएको बस दुर्घटनाको तस्बिर भाइरल बनेको छ । चालक र सहचालकमात्र रहेको बस दुर्घटना भई सडकमै ठडिएको थियो ।
ग१ख ८६८० नम्बरको बस शनिबार बिहान लेखनाथचोकबाट अर्चले जाने बाटोमा दुर्घटना भई ठाडो हुँदा चालक र सहचालक घाइते बनेका हुन् । बस शनिबार बिहान १० बजेतिर दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले बताए ।
साढे दुई घन्टापछि बस बाटोबाट हटाइएको थियो । घाइते चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइते दुवैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले बताए ।