पुम्दीभुम्दीको वन अतिक्रमण गर्ने २२ जनालाई मुद्दा

पोखरा २२ पुम्दीभुम्दीमा राष्ट्रिय वन अतिक्रमण गर्ने २२ जनाविरुद्ध मुद्दा जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ।

डिभिजन वन कार्यालय कास्कीले वन क्षेत्र अतिक्रमण गरी भोगचलन गरेको अभियोगमा मङ्गलबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो। मुद्दामा न्यायाधीश रामचन्द्र शर्माको मङ्गलबारको इजलासले अदालतमा उपस्थित तीन जनासँग जनही ५० हजार धरौटी मागेको छ।

अदालतका श्रेस्तेदार रुद्रप्रसाद अर्यालले मेघबहादुर क्षेत्री (राजु क्षेत्री), कृष्णप्रसाद बराल र उमनाथ देवकोटासँग जनही ५० हजार धरौटी माग भएको जानकारी दिए ।

पुम्दीभुम्दीको शान्ति स्तूपदेखि पूर्वको जग्गामा राजु क्षेत्रीले इलाइट क्याफे एन्ड रेस्टुरेन्ट वन क्षेत्रमा निर्माण गरेर चलाएका छन् । एक सय ७२ वर्गमिटरमा रहेको रेस्टुरेन्टको भाडा पोखरा २२ कै लीला आधारभूत विद्यालयले पाउने गरी स्थानीयको भेलाले वन क्षेत्र भाडामा लगाएको थियो ।

स्थानीयले टेन्डर खोली २०६८ मा मासिक १५ हजार पाँच सय ५० रुपियाँमा भाडामा लगाइएको थियो । ०६८ मङ्सिर ८ गते सम्झौता गरी क्षत्रीले यो क्षेत्र प्रयोग गर्दै आएका छन् ।

अभियोगपत्रमा वन ऐन २०७६ र नियमावली २०७९ बमोजिम कारबाही माग गरिएको छ। मुद्दामा पोखरा २२ का वेदनाथ बराल, तारानाथ पौडेल, कृष्णबहादुर कामी, सीतादेवी बराल, भरत सुनार, उदयबहादुर खत्री, डम्बरबहादुर बराल, शेषरमण बराल, होमबहादुर विश्वकर्मा, हरिबहादुर विक लगायतलाई प्रतिवादी बनाइएको छ ।

यस्तै, महावीर कामी, रुद्र कामी, गंगाराम सुनार, दिव्यकुमार बराल, मीनबहादुर कामी, ध्रुव विक, सुरज कामी बराइली, बालकृष्ण ढकाल र विकास सुनारविरुद्ध पनि मुद्दा परेको छ ।