
नेकपा (एमाले) कास्की अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् । ११ औं जिल्ला अधिवेशनबाट पूर्वसचिव अधिकारी पाँच सय ५१ मतसहित विजयी बनेका हुन् ।
बुधबार साँझ सार्वजनिक परिणाम अनुसार उनका प्रतिस्पर्धी माधव बास्तोलाले तीन सय ४७ र अध्यक्षका अर्का उम्मेदवार विवेक त्रिपाठीले १७ मत पाए । अधिकारी एमाले स्थायी समिति सदस्य खगराज अधिकारी निकट हुन् । पराजित बास्तोला भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट हुन् ।
पदाधिकारीमा अधिकारी प्यानलकै उम्मेदवारी विजयी भएका छन् । उपाध्यक्षमा भेषराज बरालले पाँच सय २७ मत पाउँदा प्रतिस्पर्धी शिवप्रसाद आचार्यले तीन सय ८८ मत पाएका छन् । सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा) पाँच सय ९५ मत ल्याएर चुनिँदा सुरेन्द्र गुरुङले तीन सय २० मत पाएका छन् ।
उपसचिवमा लालबहादुर परियार र उपसचिव महिलामा सन्तु सुवेदी विजयी बने । उपसचिवमा प्यानलबाहिरबाट उम्मेदवारी दिएकी संगीता सुवेदीले ६१ मत पाएकी छन् ।
अधिवेशनमा ९ सय २६ प्रतिनिधिमध्ये ९ सय १२ जनाले मतदान गरेका थिए । शनिबार एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेकोे अधिवेशनमा सहमतिमा नेतृत्व चयन गर्न नसकिएपछि लम्बिएको हो ।
यसअघि नै अधिवेशनबाट सात सदस्य सर्वसम्मत भएका थिए । अपाङ्गतातर्फ गंगाबहादुर खड्का र बुद्धिजीवी कलस्टरका दुई सदस्यमामा दुर्गा भण्डारी र विजय शर्माको मात्र उम्मेदवारी परेको थियो । मादी गाउँपालिकाबाट महिलातर्फ कल्पना गुरुङ र विष्णुमाया पौडेल र रुपा गाउँपालिकाबाट पनि सोही क्लष्टरमा कशिरना मियाँ र हिताकुमारी रुपाखेती ‘सार्की’ निर्विरोध बनेका हुन् ।
१६ विद्युतीय मेसिनबाट मतदान भएको थियो । अधिवेशनले १ सय २० सदस्यीय कमिटी चुनेको छ । बाँकी १० प्रतिशत मनोनित र १० प्रतिशत एकीकरण प्रक्रियाबाट पूर्ति गरी एक सय ४१ सदस्यीय जिल्ला कमिटी बन्ने बताइएको छ ।