गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार २ विधेयक प्रमाणीकरण गरे । गण्डकी प्रदेशसभाले फागुन २१ गते पारित गरेका गण्डकी प्रदेशमा बिउँ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भट्टले प्रमाणीकरण गरेका हुन् ।
आम सञ्चार विधेयक प्रमाणिकरण भएसँगै प्रदेशमा प्रेस रजिष्ट्रार कार्यालय स्थापना र रजिष्ट्रार नियुक्तिको बाटो खुलेको छ । दुवै विधेयक चैत २ गते सभामुख कृष्णप्रसाद धितालले प्रमाणित गरेका थिए ।
आमसञ्चार विधेयकमा प्रदेशको ११ औँ तहका कर्मचारी अर्थात् प्रदेश सचिवसरह प्रेस रजिष्ट्रारको व्यवस्था छ । रजिष्ट्रारको कार्यकाल चार वर्षे हुनेछ । ३५ वर्ष पुगी ६० ननाघेको, स्नातकोत्तर उत्तीर्ण र पत्रकारितामा कमसेकम १५ वर्ष काम गरेको व्यक्तिलाई छनोट समितिले सिफारिस गर्न सक्ने प्रावधान राखिएको छ ।
बिउँबिजनसम्बन्धी ऐनले रैथाने बालीको संरक्षण गर्दै स्थानीय बालीहरुको प्याटेन्ट राइट सुरक्षित गरेको छ । बिउँहरुको गुणस्तर, बिक्री, उत्पादनका मापदण्ड पनि यसले तय गरेको छ ।
सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार अल्प मतमा रहेका बेला विधेयक पारित प्रमाणिकरण भएको छ । जाँदा जाँदै पाण्डेले रजिष्ट्रार नियुक्त गर्ने सम्भवनासमेत छ ।