श्रीमानको हत्या गर्न सुपारी दिने च्याङ्वासहित ४ पक्राउ

कास्की प्रहरीले आफ्नै श्रीमान्को हत्या गर्न रकम दिने महिलासहित हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोककी ३५ वर्षीया च्याङ्वा भनिने कान्छी लामासहित थप तीन जना पक्राउ परेका हुन् । जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बा बोल्दे घर भएका ३६ वर्षीय रामबहादुर थापाको हत्या गर्न रकम दिने थापाकी श्रीमती लामासहितलाई विभिन्न मितिमा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
कान्छीलाई सिन्धुपाल्चोक प्रहरीको सहयोगमा र धनबहादुर लामा, नवीन तामाङ भनिने फुर्वा लामा र अजित तामाङ भन्ने छे दोर्जे लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौंबाट पक्राउ गरिएको हो ।

कान्छीका प्रेमी धनबहादुर लामा पाँच वर्षअघि थापाले चलाउने स्काभेटरका सहचालक भएको अनुसन्धानका क्रममा खुलेको छ । थापालाई हत्या गर्न कान्छीले ९० हजार दिएको प्रहरीले जनाएको छ । धनबहादुर लामाले हत्यापछि शव व्यवस्थापनमा सहयोग गर्ने छे दोर्जे लामा र फुर्वा लामालाई जनही २० हजार दिएको र ५० हजार आफूले राखेको प्रहरीसँग स्वीकारेका छन् ।

चैत १ गते सिक्लेस हाइड्रो जाने बाटोमा वादविवाद हुँदा धनबहादुरले पछाडिबाट ढुंगा प्रहार गरी थापाको हत्या गरेका थिए । ३० वर्र्षीय धनबहादुर सिन्धुपाल्चोकको साँगाचोकगडी १ का बासिन्दा हुन् । हत्यापछि करिब २५ मिटर तल एकान्तमा शव फालिएको थियो ।

चैत ३ गते बिहान ११ बजे कास्कीको मादी गाउँपालिका वडा नम्बर १ तउरेती नजिक थापाको शव फेला परेको थियो । कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले तालिम प्राप्त कुकार, प्राविधिक विश्लेषण, सिसिक्यामेरा फुटेज लगायतको सहयोगमा अनुसन्धान गरी प्रहरीले संलग्नहरुलाई पक्राउ गरेको जनाए ।

पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा चैत ६ गते कास्की जिल्ला अदालतबाट एक हप्ता म्याद थप गरी अनुसन्धान भइरहेको छ ।