पोखरा, नेपाल – चैत्र ०७ – पोखरा पंछी समाजले नवलपुरको, कावासोती – १३ मा २०८० साल माघ २६-२८ गते आयोजना गरेको दोस्रो नेपाल बर्ड फेयरमा नयाँ चरा अवलोकन ट्रेल प्याकेजहरू निर्माण गरेको र उक्त प्याकेजहरू आज एक औपचारिक कार्यक्रमका बीच अनावरण गरेको छ। पोखरा पंछी समाजको यो पहल बर्ड-इको-टूरिजमलाई प्रवर्द्धन गर्न र नवलपुर क्षेत्रमा वातावरणीय चेतना बढाउन महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा स्थापित भएको विश्वास गरेका छौं।
नेपाल बर्ड फेयरले पंछीहरुबारे जैविक विविधताको बुझाइ र प्रशंसालाई समृद्ध बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको लागि साझा मञ्चको रूपमा काम गर्दै आएको छ। यी पहलहरू मध्ये, नवलपुरको रमणीय क्षेत्रमा नयाँ पंछी अवलोकन ट्रेल प्याकेजहरू सिर्जना गर्नु दिगो पर्यटनको लागि पंछी समाजको प्रतिबद्धताको प्रमाणको रूपमा खडा भएको छ। लेकसाइडस्थित बुमर्यांग रेस्टुरेन्टमा आयोजित एक समारोहमा पर्यटन सरोकारवालाहरू, पत्रकारहरू र पेशाकर्मीहरुको उपस्थितिमा नयाँ विकसित प्याकेजहरू ब्रोसरको रूपमा अनावरण गरिएको थियो । नेपालको प्राकृतिक सम्पदाको संरक्षण गर्दै आर्थिक वृद्धि गर्न इको टुरिजमको सम्भावनालाई जोड दिँदै कार्यक्रमले व्यापक ध्यान र उत्साह प्राप्त गरेको महसुस गरेका छौं।
नारायणी नदीमा डुंगामा यात्रा गरिने ३ ओटा ट्रेल मध्ये पहिलो ट्रेलले पिठौली-घाट देखि नमुना सामुदायिक बनको बीच भाग समेटेको छ, दोस्रो ट्रेलले जमुनाघाट देखि अमल्टारी घाटसम्मको दूरी समेटेको छ भने तेस्रो ट्रेलले रत्नापुरा देखि भुताहा पोस्ट सम्मको दुरी समेटेको छ। यी डुंगामा यात्रा गरिने ट्रेलहरुमा थोरै जिप यात्रा, थोरै पैदल यात्रा र धेरै जस्तो डुंगामा गरिने यात्रा समेटिएको छ र मुख्य आकर्षणमा १४ भन्दा धेरै थरिका हाँसहरु र १० प्रजातिका जलपंछीहरु रहेका छन्।
यस्तै देवचुली ट्रेलमा कावासोतीबाट जिप यात्रा सुरु गरी करिब डेढ घण्टामा पोखरी भन्ने ठाउँमा पुग्न सकिन्छ र त्यसपछि ३ घण्टाको पैदल यात्रा रहेको छ। देवचुलीको चुचुरो पुगेर फर्किएपछि यात्रा सकिन्छ र थोरै तल होमस्टेमा रात बिताउन सकिन्छ भने सोही दिनमा फर्कन पनि सकिन्छ। यस ट्रेलको मुख्य आकर्षणहरूमा नेपालमा मात्रै पाइने काँडे भ्याकुर, धेरै प्रजातिका चाँचरहरू, कालिज, घेघरी घाँसेफिस्टो, नहिकुटी गौंथली आदी रहेका छन्।
अर्को ट्रेलको रुपमा नमुना सामुदायिक ट्रेल राखिएको छ जुन विश्वकै पहिलो सामुदायिक व्यवस्थापनमा सञ्चालित जटायु रेस्टुरेन्ट बाट यात्रा सुरु भइ कृष्णसार सामुदायिक वनको गेटमा पुगेर टुंगिन्छ। यस ट्रेल पूर्ण रुपमा पैदल यात्रा रहेको र पाँच घण्टाको अवधिमा पुरा गर्न सकिन्छ जसमा मुख्य आकर्षणहरूमा विभिन्न ८ प्रजातिका गिद्धहरू (डङ्गर, सुन, लामोठुंडे, सानो-खैरो, सेतो, खैरो, हिमाली, राज गिद्ध), खर मजुर, कालिकण्ठे तोरीगाँडा, ठुलो कस्दरी, खोया हाँस, माछाकुल, झिली जस्ता प्रजातिका चराहरू देख्न सकिन्छ।
भर्खरै अनावरण गरिएका यी पंछी अवलोकन ट्रेल प्याकेजहरूले प्रकृति उत्साहीहरू र चरा अवलोकन कर्ताहरूका लागि अद्वितीय अनुभवहरू प्रदान गर्नेछ। नवलपुरको समृद्ध जैविक विविधता देखाउन डिजाइन गरिएका यी प्याकेजहरूले पर्यटक, पथप्रदर्शक र इको-एड्भेन्चर खोज्ने एजेन्सीहरूलाई आकर्षित गर्नेछन्।