
पोखरालाई आइतबार बिहान पर्यटनको राजधानी घोषणा गरिँदै छ । पर्यटकीय राजधानी घोषणासँगै पोखराका मुख्य बजार चौबिसै घन्टा खुला गरिने भएको छ ।
शनिबार बिहान सरोकारवालासहित भएको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । अहिलेसम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका आधा दर्जन होटल, बारहरुले चौबिसै घन्टा खोल्ने अनुमति पाए पनि अरु बजार राति १० बजेपछि बन्द हुने गरेको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले केही मापदण्ड पूरा भएका मुख्य सहरी क्षेत्र चौबिसै घन्टा खुला राख्ने निर्णय भएको जनाए ।
आइतबारबाट महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, नागढुंगा, मुस्ताङचोक, राष्ट्रबैंकचोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लनचोकसम्म २४ सै घण्डा खुला हुने छन् । व्यापार, व्यवसाय खुला राख्न मिल्ने क्षेत्रका व्यवसायी र व्यवसायिक फर्मले केही मापदण्ड भने पूरा गर्नुपर्ने सर्त राखिएको छ । गृह मन्त्रालयले नै २४ सै घण्टा खुला राख्नका लागि तोकेका शर्त उनीहरुले पूरा गर्नुपर्ने छ ।
रातभर खोल्न चाहिने मापदण्ड पर्यटकीय राजधानी घोषणा कार्यक्रममा आइतबार सार्वजनिक गरिनेछ । प्रशासनको यो निर्णयबाट पर्यटन व्यवसायी उत्साहित छन् ।