सहिद स्कुलमा प्रधानमन्त्री, समस्या सुल्झाउने वाचा

तत्कालीन विद्रोही नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि सहिद, बेपत्ता, घाइते परिवारका बालबालिकाको शिक्षादीक्षाको सवाल पेचिलो बन्यो । जनयुद्धका बेला कम्युनको अभ्यास गरेको माओवादीले त्यस्ता बालबालिकालाई पढाउन देशभर पाँच विद्यालय चलाउने निर्णय ग¥यो ।

तीमध्ये एक विद्यालय पोखरा महानगरको वडा नम्बर १४ मझेरीपाटनमा खुल्यो । २०६६ मा स्थापना भएको मझेरीपाटनको सहिद स्मृति आवासीय विद्यालयमा अहिले तीन सय ५२ विद्यार्थी छन् । विद्यालयमा संरक्षणसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार सहिद स्कुल पुग्नुभयो । उहाँले विद्यालयको अवस्थाबारे जानकारी लिनुका साथै बालबालिकासँग कुराकानीसमेत गर्नुभयो ।

प्रधानमन्त्री दाहालले सहिद स्कुलका बालबालिकाले खेलकुदको क्षेत्रमा उल्लेख्य प्रगति गरेकोमा प्रशंसा गर्दै स्कुलले झेलिरहेका समस्या सुल्झाउने प्रतिवद्धता गर्नुभयो । उहाँले भन्नुभयो, “यो विद्यालयले पाउने अनुदान आगामी वर्षबाट बढेर आउनेछ । यहाँका शिक्षक, कर्मचारीको भविष्यबारे पनि हामी चाँडै निर्णय गर्छाैं ।’

नेपाल सरकारले यो स्कुललाई वर्षिक सवा दुई करोड अनुदान दिने गरेको छ । पछिल्ला पाँच वर्षदेखि अनुदानमा वृद्धि नहुँदा विद्यालय सञ्चालन गर्न कठिनाइ परेको छ । प्रधानमन्त्री दाहालले अहिले नयाँ सन्दर्भ भएकाले सहिद, बेपत्ताका छोराछोरीलाई मात्र शिक्षा दिने नभएर नयाँ ढंगले अघि बढ्न आग्रह गर्नुभयो ।

स्कुलका समस्या सरकारले सुल्झाउने वाचा गर्दै उहाँले बालबालिकालाई अध्ययनमा ध्यान दिन आग्रह गर्नुभयो । “यी विद्यालयको पहिचान पनि रहने गरी राज्यको नेतृत्वमा ल्याउने गरी मोडेलको खोजी हुँदै छ,” उहाँले भन्नुभयो, “यसबारे चाँडै सकारात्मक निर्णय हुन्छ । तपाईहरुले इतिहाँसको बलिदान सम्झेर पढ्ने, प्रतिस्पर्धामा खरो उत्रिने गर्नुहोला ।”

विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि अधिकारी ‘कुमार’ले बर्सेनी खर्च बढ्दै जाँदा स्थिर अनुदानले विद्यालय चलाउन समस्या भएको औंल्याउनुभयो । पहिलो क्रममा सहिद, बेपत्ता, घाइतेका बालबालिकालाई आवासीय शिक्षा दिइएको भए पनि अहिले विद्यालय समयमा मात्र पढ्न आउने बालबालिका पनि रहेको उहाँले जनाउनुभयो ।

“अहिले दुर्गम, दलित, प्राकृतिक विपद्मा परेका बालबालिकालाई पनि आवासीय रुपमा राख्न थालेका छौँ, विद्यालय समयमा आउने र बेलुका फर्किने बालबालिका पनि छन्,” उहाँले भन्नुभयो ।
मझेरीपाटको ६७ रोपनीमा फैलिएको यो स्कुलमा दुई सय दुई जना बालबालिका आवासीय रुपमा पढ्छन् भने बाँकी एक सय ५० जना घरैबाट आउने–जाने बालबालिका छन् । शिक्षक, कर्मचारी गरी ३० जना कार्यरत यो विद्यालयले कक्षा १२ सम्म विज्ञान तथा व्यवस्थापनका कक्षासमेत चलाएको छ । विद्यालयकी प्रधानाध्यापक कल्पना चिलुवाल बालबालिका औपचारिक अध्ययनसहित खेलकुद र अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट भएको बताउनुहुन्छ ।

प्रधानाध्यापक चिलुवाललाई प्रधानमन्त्रीको आश्वासनपछि स्कुलका समस्या सुल्झिने अपेक्षा छ । उहाँ भन्नुहुन्छ, “अहिले विद्यार्थी बढेका छन्, अनुदान बढेन । डेढ करोडभन्दा तलबमै खर्च हुन्छ । बाँकी रकमले आवासीय सुविधासहित विद्यार्थी राख्न कठिनाइ परेको छ ।” विद्यालयका संरक्षकसमेत समेत रहनुभएका प्रधानमन्त्री दाहालको प्रतिवद्धतापछि विद्यालयका समस्या सुल्झिने आशा पलाएको चिलुवालले सुनाउनुभयो ।