पोखरा ६ को लेकसाइडमा भिएनवाइ पार्कमा बनाउन लागिएका शौचालयसहितका संरचनामा उच्च अदालत पोखराले रोक लगाइदिएको छ ।
न्यायाधीशद्धय मिलनकुमार राई र अमृतबहादुर बस्नेतको संयुक्त इजलाशले सो पार्कमा संरचना नबनाउन मंगलबार आदेश दिएको हो ।
गएको असार २७ गते अधिकारकर्मी अनिल थापासहित राजेन्द्र अधिकारी, आनन्द कुँवर, कृष्ण बराल र सुजन बाटाजूले पार्कमा बनाउन लागिएका संरचना रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिट दायर भएको भोलिपल्टै उच्चले तत्काललाई काम रोक्न अल्पकालीन आदेश दिएको थियो ।
मंगलबार अदालतले पुरानो आदेशलाई नै सदर गरेको हो । करिब २ रोपनीमा फैलिएको पार्कमा १५ वर्षका लागि सार्वजनिक शौचालय लगायतका संरचना बनाउन एक निजी कम्पनीलाई दिएको थियो । पार्कमा सूर्य नेपाल प्रालिले संस्थागन सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड ४० लाख रुपैयाँमा खर्च गर्ने योजना थियो ।