
कास्कीको माछापुच्छे गाउँपालिकामा प्राकृतिक स्रोत व्यवस्थापनमा महिला तथा सीमान्तकृत वर्गको सवाल र सम्बोधनका उपायमाथि छलफल भएको छ । युएसएआइडी जल जंगलको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाले यसबाट परेका असर र समस्यामाथि छलफल गर्दै समाधानका उपायहरु पनि सुझाए ।
युएसएआइडी जल जंगलका सिनियर जेसी अधिकृत सुनीलकुमार चौधरीले प्राकृतिक स्रोतको विनाश, वातावरण परिवर्तन जस्ता कारणले सबैभन्दा बढी महिला र सीमान्तकृत वर्ग, ग्रामीण समुदाय पीडित भएको औंल्याए । उनले कास्कीको माछापुच्छ«ेमा जलवायु परिवर्तनका केही असर देखिएको औंल्याउँदै त्यसले कृषि र मानिसको जीविकोपार्जनमा प्रभाव पारेको उल्लेख गरे ।
कार्यक्रममा सरोकारवालाले चार समूहमा समूहगत छलफल गरेका थिए । उनीहरुले त्यहाँ समस्या र समाधानका उपायहरुबारे बिमर्श गरे । उनीहरुले कृषिको विकल्पमा स्थानीयको पेशा पर्यटन भएको जनाउँदै पर्यटनका पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटन सूचना केन्द्र आवश्यक भएकोमा जोड दिए । समूहगत रुपमा भएको छलफलका सहभागीहरुले जलवायु परिवर्तन, यसबाट मानव जीवनमा परेका असर र अनुकूलनका उपायहरुबारे पनि विमर्श गरेका थिए ।

लैंगिक समतामूलक र सामाजिक समावेशिकरणको महत्वबारे पनि जनचेतना जगाउनुपर्नेमा उनीहरुको जोड छ । सहभागीहरुले पछिल्लो क्रममा प्राकृतिक स्रोतमा आएको परिवर्तनले महिला तथा सीमान्तकृत वर्गको जीविकोपार्जनमा कठिनाइ थपिँदै गएको जनाउँदै त्यसलाई हटाउन सरोकारवालालाई प्रभावकारी कदम चाल्नसमेत आग्रह गरेका छन् ।
कार्यक्रममा माछापुच्छे गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले प्राकृतिक स्रोत, साधनको उपयोगबिना समृृद्धि हाँसिल नहुने जनाउँदै सम्पदाहरुको कानुनसम्मत र विवेकपूर्ण उपयोग गरिनुपर्नेमा जोड दिइन् ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले पालिकाका प्राकृति स्रोत साधन, तीनको उपभोग र सम्भवनाबारे प्रकाश पारेका थिए । समारोहमा युएसएआइडी जल जंगल पोखरा प्रमुख मानबहादुर विकले संस्थाले गर्ने काम र कार्यक्षेत्रबारे सहभागीका जिज्ञासाको समाधान गरेका थिए ।
कार्यक्रममा माछापुच्छे वडा नम्बर ५ का अध्यक्ष एवं विपद् व्यवस्थापन समितिको सदस्य नारायण पौडेलको अध्यक्षतमा भएको थियो ।