विगतका बर्षमा झैँ यो वर्ष पनि बागलुङमा आगामी चैते दशैंकाे अवसरमा मेला आयोजना गरिएको छ । कालीका गुठी व्यवस्थापन समितिले बागलुङ सदरमुकाममा ऐतिहासिक चैते दशैको चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म बागलुङ नगरपालिका वडा नम्बर १ बाल उद्यान रामरेखामा मेला आयोजना गर्ने भएको छ ।
लाखौं श्रद्धालु भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा रहेको चैत्राष्टमी मेला यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाउने योजना रहेको कालीका गुठी ब्यवस्थापन समिति अध्यक्ष कुमार खड्काले बताउनुभयाे ।
गन्तव्य बागलुङ कालीका कला र संस्कृतिको प्रवर्द्धन स्थानीय उत्पादन ब्यापार र पर्यटन प्रवर्द्धन भन्ने मुल नारासाथ यहीँ चैत ३० गतेदेखि बैशाख बैशाख ६ गतेसम्म हुने ऐतिहासिक चैते दशै मेला भब्य र सभ्य रूपमा सम्पन्न गर्न कालीका कप खुला भलिबल प्रतियोगिता ,बिद्यालय स्तरीय नृत्य प्रतियोगिता,राष्ट्रिय लाेक दाेहाेरी गीत प्रतियोगिता छेलाे प्रतियोगिता ,रथ यात्रा,रमाइलो मेला बाल उद्यान ,लगायतका कार्यक्रम समावेश गरिएको अध्यक्ष खड्काले बताउनुभयाे ।
बागलुङ सदरमुकाममा सयौं वर्षदेखि चल्दै आएको चैत्राष्टमी मेला यो वर्ष जिल्लामा क्रियाशील संघ संस्था, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायीलगायत सरोकारवालासँग सहकार्य गरेर मनाउन लागिएको कालीका गुठीका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताउनुभयो ।
कालीका गुठी व्यवस्थापन समितिका प्रेस सल्लाहकार राजभण्डारीका अनुसार मुलुककै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङको कालीका भगवती मन्दिरमा सो अवधिमा पाँच लाखभन्दा बढी भक्तजन पूजा गर्न आउने अनुमान गरिएको छ ।
उनीहरुले आफूले भाकल गरेका बोका, हाँस, कुखुरा, राँगो सयौंको संख्यामा बलि दिने चलन छ । ऐतिहासिक रूपमा हुँदै आएको चैते दशैं मेलामा यो वर्ष धेरै धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।