
पोखरा महानगरले आइतबार विविध कार्यक्रम गरी सातौँ स्थापना दिवस मनाउँदै छ । महानगरले आइतबार दिउँसो १ बजेपछि महानगरका सबै कार्यालयमा बिदा दिएको छ ।
स्थापना दिवसकै अवसरमा एकीकृत पर्यटकीय सूचना केन्द्र, सार्वजनिक पुस्तकालय, आर्ट ग्यालरी र घण्टाघरसहितको भवन शिलान्याश गरिएको छ । १० करोड लागतमा पोखराको पहिचान दिने खालको पोखरा भवन बनाइने महानगरका प्रमुख धनराज आचार्यले बताए ।
“महानगरको पहिचान दिने खालको पोखरा भवन बन्दै छ । तीन तले भवनमा सार्वजनिक पुस्तकालय, आर्ट ग्यालरी, कोसेली घर लगायत हुने छन्,” उनले भने । पृथ्वीचोकको पुरानो गोलघर भएको ठाउँमा लिफ्टसहितको तीनतले भवन बन्न लागेको हो ।
महानगरले कार्यपालिकाको कार्यालय, महाशाखा, शाखा र वडा कार्यालयहरु आधा दिन बिदा दिएको छ । स्थापना दिवसको अवसरमा महानगरले आफ्नै कार्यालय परिसरमा बिहान रक्तदान आयोजना गरेको छ । पोखरा–१९, खुइतेखोलामा पुल शिलान्याश गरिँदै छ । मूल समारोह भने दिउँसो २ बजेबाट हुँदै छ ।