५ मुक्तक

झुठको खेती गरेर भ्रमको अन्न फलाउछन् यहाँ
वास्तविक बिउ ओइलाउछ, नक्कली पलाउछन् यहाँ
यो भ्रान्त संसारमा भ्रमले नै पैसा, नाम, इज्जत कमाइने रहेछ
त्यसैले होला भ्रमकै व्यापार गरेर गुजारा चलाउछ्न् यहाँ ।

जाँदैनन् रोधीतिर अब डिस्को र बार धाउन थाले
आफ्नै संस्कार मान्दैनन, सारा नयाँ अपनाउन थाले
लगाउन छाडे लुंगी, चोलो, दुर्लभ भयो सलैजो र ठाडो भाका
जब सारा नेपालीले विदेशी पारा ल्याउन थाले ।

द्वापरका शकुनि एक थिए, अहिले अनेका छन्
कलियुगमा त झन् बढी पाप गर्छन् भनेका छन्
यहाँ कृष्ण, अर्जुन, युधिष्ठिर दुर्लभ छन्
प्रशस्तै धृतराष्ट्र अनि दुर्योधनमात्र बनेका छन् ।

जानी जानी कालो पट्टि बाँधेर हेर्न खोज्छौ
भुत्ते हतियारले भ्रस्टाचारको बोट सेर्न खोज्छौ
यद्वपि तिमी या त मूर्ख हौ, या चण्डाल हुनुपर्छ
जो गफैमात्र गरी देशको मुहार फेर्न खोज्छौ !

मजा जित्नुमा भन्दा जित्ने अभिलाषामा छ
मजा पाइहाल्नु भन्दा पनि पाउने आशामा छ
सफलताबाट पाएको खुसी त क्षणिकमात्र हुन्छ
त्यो गन्तव्यमा मजा कहाँ जुन यात्राको परिभाषामा छ ।