
११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान गर्ने १६ महिलालाई सम्मान गरेको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. १ मा रहेको अमोर सेवा नेपाल (बाल गृह) की सञ्चालक सामाजिक अभियन्ता कमला पराजुली समारोहमा सम्मानित भइन् ।
प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारी, गण्डकीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल लगायतले १६ जनालाई जनही नगद ५० हजार र सम्मानपत्रसहित सम्मान गरेका हुन् ।
सामाजिक अभियन्ता पराजुलीले करिब डेढ दशकअघि कमलाले स्थापना गरेको बालगृहमा अहिले ३० बालबालिका छन् । अविवाहित पराजुलीले बालबालिकाकै हेरचाह र भरणपोषणमै जीवन समर्पित गरेकी छन् ।
समारोहमा पत्रकारहरु राधिका कँडेल, प्रतीक्षा काफ्ले र दुर्गा अधिकारी पनि सम्मानित भएका छन् । फोटो पत्रकार कँडेल नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ हुन् भने काफ्ले कान्तिपुर दैनिककी संवाददाता हुन् । पत्रकार अधिकारी रेडियो सफलतासँग सम्वद्ध छिन् ।
यसरी सम्मानित हुनेहरुमा सामाजिक अभियान्ताद्वय विना सिलवाल, फुन्जो झाङम लामा, पूर्णिमा श्रेष्ठ, मनु गुरुङ, दिकील्हमु लामा, नानुमाया गुरुङ, कमला गिरी, रेखमाया गुरुङ छन् ।
यस्तै, भाषा, संस्कृतितर्फ तारामाया थापा र उद्यमशीलतातर्फ चन्द्रकला राना, कान्छी गुरुङ र हिरा भट्टराई सम्मानित भएका छन् .

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारीले गण्डकी सरकारले पहिलोपटक विभिन्न क्षेत्रका क्रियाशील महिलालाई सम्मान गर्नु सराहनीय काम भएको जनाए ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले आगामी वर्षदेखि सम्मानको कार्यविधि सच्याएर यसलाई निरन्तरता दिइने प्रतिवद्धता जनाए ।