पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद आजै विस्तार हुनेभएको छ । यथासम्भव आजै दिउँसो ५ बजे नयाँ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी छ ।
माओवादी केन्द्रबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, उर्जामा शक्तिबहादुर बस्नेत, अर्थमा वर्षमान पुन र पर्यटनमा हितबहादुर तामाङको नाम टुङ्गो लागेको छ ।
नयाँ सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले आठ मन्त्रालय पाएको छ । एमालेबाट रघुवीर महासेठ, पदम गिरी, ज्वालाकुमारी साह, दामोदर भण्डारी, भगवती चौधरी, हरि उप्रेती र राजेन्द्र राई मन्त्री बन्दै छन् । महासेठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्री बन्ने पक्का भए पनि अरुको मन्त्रालयल टुंगिन बाँकी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चार जना मन्त्री बन्दै छन् । रास्वपा सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्दै छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठलाई पठाउने सो पार्टीले निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सचिवालयले जसपा र एकीकृत समाजवादीबाट भने मन्त्रीहरुको नाम आउन बाँकी रहेको जनाएको छ ।