पाण्डे सरकारलाई दिएको माओवादीको समर्थन फिर्ता

नेकपा माओवादीले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादीले संसदीय दलको बैठक बसेर समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता हरिबहादुर चुमानले जनाए । ‘आजकै निर्णय अनुसार सुरेन्द्रराज पाण्डेलाई दिइएको समर्थन फिर्ता लिइएको छ,’ उनले भने ।

मुख्यमन्त्री पाण्डेले मंगलबार माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई बर्खास्त गरिदिएका थिए । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा र भौतिक पूर्वाधार विकासमन्त्री रेशम जुग्जालीलाई बर्खास्त गरेका हुन् ।

अब नयाँ सरकार गठनको गृहकार्य सुरु भएको उनको भनाइ छ । संघमा जे भए पनि प्रदेशमा सहकार्य गर्ने गरी कांग्रेसबाहेकका सबै दलसँग सहकार्य गर्ने गरी कुरा भइरहेको उनको भनाइ छ । प्रदेशमा सरकार गठनका लागि राप्रपा र एकीकृत समाजवादी निर्णायक छन् ।