पोखरा ९ मा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारीको करिब सात करोड ठगी गरेको अभियोगमा अध्यक्षसहित ३ पक्राउ परेका छन् ।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले आइतबार साँझ विन्दवासिनीको छानबिन प्रतिवेदन बुझाएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदीपसन्दिप पौड्याल छन् ।
पौड्याल पोखरा–८ मा रहेको लेक सिटी हस्पिटल एण्ड क्रिटिकल कियर प्रालिका अध्यक्षसमेत हुन् । सहकारीका सचिव गंगाधर सुवेदीका भाइ पर्ने पौड्यालले सहकारीको जग्गा किनेका थिए ।
सचिव सुवेदी भने फरार भइसकेका छन् । सहकारीको रकम हिनामिना भएपछि छानबिन माग गर्दै बचतकर्ताहरुले सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । सहकारी रजिष्ट्रारको कार्यालयले छानबिन गर्दा झण्डै ७ करोड रुपैयाँ हिनामिना गरेको पुष्टि भएको छ ।
ठगीमा सम्बद्ध अरुविरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएपछि कारवाही हुने कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी बताए । अध्यक्ष नकर्मी र सचिव सुवेदीले मिलेर कार्यसमितिका अरुको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनले औँल्याएको छ ।
पोखरा २९ मा सहकारीको नाममा रहेको तीन रोपनी जग्गा किर्ते गरी बेचेर रकम हिनामिना गरेको उनीहरुमाथि अभियोग छ । सो जग्गा तीन करोड ५९ लाख ९० हजारमा बिक्री भएको स्रोत बताउँछ ।
किर्ते गरी बेचिएको जग्गा आठ दिन भित्रमा फिर्ता गर्ने भनी अध्यक्ष नकर्मी र सचिव सुवेदीले गएको पुस २६ गते कागज गरे पनि जग्गा फिर्ता नभएपछि बचतकर्ताहरुले उजुरी दिएका थिए । अध्यक्ष नकर्मी र सचिव सुवेदीले उदीपसन्दिप पौडेल र रेजिना विष्टलाई सहकारीको जमिन बेचेका थिए ।