संघदेखि प्रदेशसम्मै सरकारहरु बदलिने

संघमा सत्ता गठबन्धन बद्लिएपछि प्रदेशसम्मै त्यसको धक्का आइपुग्ने पक्का भएको छ । नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरिसकेको छ ।

सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले नयाँ सत्ता समीकरण गरेर जाने निर्णय गरेको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भने, ‘नयाँ गठबन्धनको प्रसङ्ग आएको छ । मन्त्रिपरिषद् र राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको नयाँ शिराबाट छलफल हुन्छ । प्रदेशका मुख्यमन्त्री पनि आलोपालाका आधारमा अगाडि बढाउँछौँ ।’

एमालेसहितको नयाँ सत्ता समीकरणले वामपन्थी एकताको दिशामा लैजाने उनको भनाइ छ । ‘अहिले पार्टी एकताको कुरा त चलेको छैन । यो कदमले त्यस दिशातिर लैजान्छ । वामपन्थी ध्रुवीकरणतिर लैजान यो कमल चालिएको हो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’

उनले समाजवादी मोर्चा पनि निरन्तर रहने बताए । ‘माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सँगै लिएर जाने हाम्रो निर्णय छ । विप्लवजीलाई पनि समेट्छौँ । यसमा एमाले पनि सकारात्मक नै छ,’ उनले भने ।