खिलाङका महिलालाई नेतृत्व विकास र उद्घोषण तालिम

मादी गाउँपालिका वडा नं. १ खिलाङका महिलालाई ३ दिने नेतृत्व विकास तालिम प्रदान गरिएको छ । वडा नं. १ को आयोजनामा बुधबारदेखि सुरु भएको तालिम शुक्रबार सकिएको हो ।

कार्यक्रममा वडाध्यक्ष देविजंग गुरुङले ग्रामीण क्षेत्रका अधिकांश महिलाको दिनचर्या चुलोचौको र घरधन्दामै बित्ने गरेको र त्यही दैनिकीलाई माथी उठाएर नेतृत्वदायी भूमिकामा सक्षम बनाउन तालिम आयोजना गरिएको बताए । उनले अवसर, सम्भावना र सेवालाई समान रुपले वडा भित्रका प्रत्येक समुदाय र भूगोलमा पु¥याउन प्रयत्नरत रहेको सुनाए ।

खिलाङ आमा समूह अध्यक्ष सुकुनादेवी गुरुङले आफ्नो परिचय दिन पनि लजाउने खिलाङका महिलाका अब समस्या राख्न सक्ने भएको बताइन् । उनले आगामी दिनमा सीपमुलक तालिमहरु सञ्चालन गरी महिलालाई स्वरोजगार बनाउन आग्रह गरिन् ।
६९ वर्षीया चिजकुमारी गुरुङले तालिमले आत्मविश्वास थपिएको सुनाइन् । अर्की प्रशिक्षार्थी रविना विकले महिला बोल्न नसक्दा घरेलु हिंसा, सामाजिक हिंसा, लैंगिक हिंसाको शिकार हुने जनाइन् ।

दलित र गुरुङ समुदायका ५० भन्दा बढी महिलालाई दुर्गा रानामगर र कविता घर्तीमगरले प्रशिक्षण दिएका थिए । कार्यक्रममा आमा समूहकी सचिव डिलमाया गुरुङ, डा सदस्य प्रेमबहादुर गुरुङ,माया भुजेल लगायतले बोलेका थिए ।