चालु आर्थिक वषमा स्वरूप परिवर्तन गरी चलाइएका ६ सय ८१ मोटरसाइकललाई कास्की प्रहरीले कारवाही गरेको छ । स्वरुप बिगारेर समाजमा होहल्ला मच्चाई ध्वनि प्रदूषण गर्ने ती मोटरसाइकललाई कारवाही गर्दा ७ लाख ४२ हजार ७ सय जरिवाना सङ्कलन भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा पछिल्ला तीन दिनमा ५९ स्वरुप बिगारेका मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले स्वरुप बिगार्ने मोटरसाइकलका धनीहरुलाई पहिलो पटक जरिवाना तिराएर अभिभावकको रोहबरमा छाड्ने गरिएको जानकारी दिए ।
‘दोस्रो पटक परेकालाई यातायात व्यवस्था कार्यालय पठाउँछौँ, यस्तो काम गर्ने वर्कसपहरु पहिचान भइसकेका छन्,’ उनले भने, ‘उनीहरुलाई पनि नियन्त्रण लिएर अनुसन्धान गर्छाैं ।’ नियन्त्रणमा लिइएका मोटरसाइकलमा अधिकांश महंगा बुलेट, प्लसर लगायत छन् । ती मोटरसाइकलका हेडलाइट, साइलेन्सरदेखि चाबीसम्म मोडिफाइ गरेको देखिएको छ । केहीले साइलेन्सरमा फलामे पाइप राखी एक्सेलेटर बटार्दा आँगो निस्कने बनाएको देखिएको छ ।
कास्की प्रहरीले गएको भदौ अन्तिम सातादेखि स्वरुप परिवर्तन गरेका मोटरसाइकललाई कारवाही गर्ने अभियान चलाएको थियो । होहल्ला गर्दै मोटरसाइकल पड्काउदै हिड्ने तथा ध्वनि प्रदूषण भएको गुनासो बढेपछि कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख भानु शर्माले सुनाए । पछिल्लो क्रममा नियन्त्रणमा लिइएका ५९ मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।