गजल सन्ध्या पोखरा, नेपालमा मन क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । संस्थाको शनिबार भएको १३ औं अधिवेशन तथा १८ औं साधारणसभाले क्षेत्रीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा कपिल शर्मा, सचिव उदीपराज ढुंगाना, कोषाध्यक्ष विष्णु सुवेदी र सहसचिवमा सावित्री गिरी छन् । सदस्यमा शोभा लामिछाने, माधव खतिवडा, सागर अधिकारी, लक्ष्मण तिमिल्सिना र करणकपुर खनाल छन् ।
नवनिर्वाचित अध्यक्ष क्षेत्री, उपाध्यक्ष शर्मा र सचिव ढुंगाना संस्थाका पूर्वअध्यक्षसमेत हुन् । अध्यक्ष क्षेत्रीले अनुभवी पूर्वअध्यक्षसहित नयाँ युवाको टिमले नेपाली गजलको उत्थानमा यथाशक्य योगदान गर्ने वाचा गरे ।
रुपिन्द्रप्रभावीको संयोजकत्वमा दिलीप दोषी र रामजीप्रसाद आचार्य सदस्य रहेको ३ सदस्यीय निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि सहजीकरण गरेको थियो । ‘गजलको उत्थान, हाम्रो अभियान’ भन्ने उद्घोषका साथ क्रियाशील संस्थाले हरेक महिनाको दोस्रो शनिबार नियमित गजलवाचन गर्दै आएको छ ।
गजल सञ्चयन प्रकाशन, गजलबारे चर्चा, प्रशिक्षणसमेत चलाउँदै आएको संस्थाले नवनित साहित्य सागरसँग सहकार्य गरी अक्षरयात्रासमेत सञ्चालन गर्दै आएको छ ।