केशरजंग बने त्रिविका उपकुलपति

त्रिभुवन विश्वविद्यालय(त्रिवि)को उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन् । प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार उनलाई उपकुलपति नियुक्त गरेका हुन् ।

पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति बराल बराल व्यवस्थापन संकायका प्राध्यापक हुन् । उनले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए । उनी पोखराको पृथ्वीनारायण क्याम्पसका प्राध्यापक बराल त्रिविको २० औँ उपकुलपति बनेका हुन् ।

पोखरा–१० का बासिन्दा बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति थिए । शिक्षामन्त्री अशोककुमार राई अध्यक्ष रहेको छनोट समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो ।

उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि ३ जनाको नाम सिफारिस भएको थियो ।