पोखराका भवन, डिल, भीर र नदी, खोलामा नयाँ मापदण्ड( विस्तृतमा)

पोखरा भवन, पूर्वाधार, सडक, खोला, नदीको नयाँ मापदण्ड बनाएको गरेको छ । बुधबार आयोजित कार्यक्रममा महानगरका मेयर धनराज आचार्यले पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड–२०८० सार्वजनिक गरे ।

अब पोखरामा ५ तलासम्मका भवन बनाउन पाइनेछ । त्यसभन्दा अग्ला भवन बनाउन मापदण्डबमोजिम सेटब्याक छाड्ने माटो परीक्षण गर्नुपर्ने भएको छ । पोखरा महानगरको १३ औँ कार्यपालिका बैठकले नयाँ मापदण्ड पास गरेको थियो ।

पोखरामा यसअघि ३ तलासम्मका मात्र भवन बनाउन पाइन्थ्यो । “१७ मिटर वा ५५ फिटसम्मका संरचनाका लागि माटो परीक्षण गर्नु पर्दैन,’ महानगरका घरनक्सा शाखा प्रमुख सुरेन्द्र पौडेलले भने, ‘त्यसभन्दा अग्ला संरचना निर्माणका लागि माटो परीक्षण गरी त्यसको अवस्था अनुसार अनुमति दिन्छौँ ।”

पुरानो मापदण्ड व्यवहारिक नहँुदा र नगरपालिकाको अनुगमन फितलो हुँदा मनलाग्दी भवन बनिरहेका छन् । अहिले महानगरमा १० तलाभन्दा अग्ला भवन १९ वटा रहेको महानगर तथ्याङ्क छ ।

महानगरका मेयर आचार्यले नयाँ मापदण्डबारे जानकारी दिँदै कार्यान्वयन प्रक्रियामा जाने जनाए । “नयाँ मापदण्डबारे पहिला अवारनेस दिन्छौँ, त्यसपछि कार्यान्वयनमा जान्छौँ,” उनले भने । फेरिएको परिस्थिति, स्थानीय आवश्कता, सर्वाेच्चको आदेश, संघीय मन्त्रालयहरुका मापदण्डहरुमा टेकेर नयाँ मापदण्ड बनेको उनले सुनाए ।

नयाँ मापदण्डमा औद्योगिक, शैक्षिक, सिनेमा घर, पार्टी प्यालेस जस्ता भीड हुने ठाउँमा लम्बाइ अनुसार त्यसको प्रवेशस्थलको चौडाइ मापदण्ड तोकिएको छ । फेवातालसहित अन्य तालको मापदण्ड सर्वाेच्च अदालतको आदेश अनुसार तय गरिएको छ । फेवाको मापदण्ड ६५ मिटर, रुपा र बेगनासको १ सय मिटर, अरु तालको ५० मिटर मापदण्ड तोकिएको छ । साना पोखरीहरुको मापदण्ड ६ मिटर निर्धारण भएको छ ।

डिल, भीर, पहिरो छेउमा निर्माणका लागि त्यसको उचाइ अनुसार सेटब्याकको व्यवस्था गरिएको छ । पाँच मिटरसम्मा अग्ला डिल, भीर पहिरोमा दुई मिटर सेटब्याक राख्नुपर्ने छ भने पाँच देखि १० मिटरसम्म तीन मिटर र १० देखि १५ मिटरसम्मका लागि पाँच मिटर सेटब्याक तोकिएको छ ।

१५ देखि २० मिटर अग्ला डिल, भीर, पहिरोको सेटब्याक साढे सात मिटर र २० मिटरभन्दा आग्लामा १० मिटर सेटब्याक तोकिएको छ । नयाँ मापदण्डले पोखरा महानगर हुँदै बग्ने सबै खोला र नदीको मापदण्ड बनाएको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।