पोखरा २१ का वडाध्यक्ष रिहालगत्तै पक्राउ

पोखरा २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी रिहा लगत्तै पक्राउ परेका छन् । मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका सुवेदी सहकारी ठगी मुद्दा थुनछेक बहसपछि धरौटीमा रिहा भएका थिए ।

८ लाख धरौटी बुझाएर रिहा भएका सुवेदीलाई प्रहरीले फेरि पक्रेको हो । शान्ति केसीले वडाध्यक्ष सुवेदीले आफूलाई ठगेको जाहेरी दिएकाले उनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।

ठगी अभियोगमा फरार सुवेदी अदालतमा उपस्थित भएपछि थुनछेक बहस भएको थियो । न्यायधीश चन्द्रकान्त पौडेलको इजलासले वडाध्यक्ष सुवेदीलाई आठ लाख धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए ।

वडाध्यक्ष सुवेदीसहित ३० जना विरुद्ध पोखराको मित्रमिलन सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको अभियोग छ । जिल्ला अदालत कास्कीबाट गएको मङ्सिर २६ गते सुवेदीसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए । मित्रमिलन सहकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भएकाहरू धमाधम अदालतमा उपस्थित हुन थालेका छन् ।
आइतबार जिल्ला अदालतमा उपस्थित भएका जनकल्याण पराजुली तीन लाख, सुरेशकुमार श्रेष्ठ सात लाख, हरेराम भण्डारी सात लाख, लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी सात लाख, विष्णुप्रसाद भण्डारी सात लाख र पूर्वअध्यक्ष कृष्णबहादुर राउतलाई १२ लाख धरौटीमा छुटिसकेका छन् ।

छ जना जना पुर्पक्षका लागि कारागारमा छन् । मित्रमिलन सहकारी प्रकरणमा प्रहरीले ३१ करोड बिगोसहित ३३ जना विरुद्ध गएको पुसमा मुद्दा दर्ता गरेको थियो । नेकपा(एमाले) पोखरा २१ इन्चार्ज अर्जुन गिरी, प्रेस युनियन कास्की उपाध्यक्ष विजय लम्साल लगायत अझै फरार छन् ।